भैरहवा ।
रूपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे) कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
धावनमार्ग निर्माण सम्पन्न भएपछि अन्तर्राष्ट्रिय स्तरका उडान भर्न सकिन्छ । ४ तहमा निर्माण हुने धावन मार्गको ३ तहमध्ये पहिलो र दोस्रो तह र तेस्रो तह सम्पन्न भएको छ भने अन्तिम चरणको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
धावन मार्गको प्रत्येक पत्र कालोपत्रे ७ दशमलव ५ मिटरको छ । धावन मार्गको लम्बाई ३ किलोमिटर छ । आयोजना प्रमुख प्रवेश अधिकारीले वैशाखभित्र धावन मार्ग निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको बताउनुभयो ।
धावन मार्ग कात्तिकदेखि कालोपत्रे गर्न शुुरू गरिएको थियो । धावनमार्ग पूर्णरुपमा तयार भएपश्चात् आपतकालीन अवस्थामा काठमाडौंमा अवतरण हुन नसक्ने अन्तराष्ट्रिय उडानका विमानलाई लुम्बिनीमा अवतरण गराउन सकिने आयोजना प्रमुख अधिकारीले बताउनुभयो ।
आयोजनामा हालसम्म ७० प्रतिशतभन्दा बढी काम सकिएको छ । चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले निर्माणको कामलाई तीब्रताका साथ अगाडि बढाएको छ । दिनरात गरेर १ सय ५० जना कामदार खटिएका छन, जसमध्ये ७० जना चिनियाँ छन् । ट्याक्सी–वेको काम पनि धमाधम भइरहेको छ । १ सय ६० वटा ट्याक्सी पार्किङ गर्ने पार्किङस्थल बनाइँदै छ । ट्याक्सी–वेको लम्बाई १ हजार १ सय मिटर लामो र २३ मिटर चौडाइको हुुनेछ ।
त्रिभुवन अन्तराष्टिय विमानस्थल साँघुरो भएको, कुनै पनि समस्या आउँदा भारत र नजिकका विभिन्न विमानस्थलमा जहाज डाइभर्ट गर्नुपर्ने बाध्यता गौतमबुुद्ध विमानस्थल बनेपछि अन्त्य हुने अपेक्षा गरिएको छ ।
४ बैशाख २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया