१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

प्रदेश नं. १ का विरुद्ध एपिएफको गोलको बर्षा, सावित्राको मात्र ४ गोल !



चन्द्रकान्त न्यौपाने, बाणगंगा ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटवलमा शशष्त्र प्रहरीको एपिएफले शानदार सुरुवात गरेको छ । कपिलवस्तुको बुद्ध रंगशालामा बुधबारबाट सुरु भएको प्रतियोगिता अन्तर्गत दोश्रो खेलमा एपीएफले प्रदेश नम्बर १ को पोष्टमा ६ गोल गरी सुखद सुरुवात गरेको हो । एपिएफको लागि नेपालकी खतरनाक स्ट्राइकर जर्सी नम्बर ९ की सावित्रा भण्डारीले ह्याट्रिकसहित ४ गोल गरिन् । खेल सुरु भएको पाँचौ मिनेटबाट नै एफिएफले सावित्रा भण्डारीको गोलबाट अग्रता लियो । त्यसपछि २९ औँ मिनेटमा जर्सी नम्बर ११ की अनिता बस्नेतले अग्रता दोब्बर पारिन् । देश तथा विदेशमा समेत आफ्नो खेलबाट सबैलाई प्रभावित पार्न सफल भण्डारीले आफ्नो उत्कृष्ट खेल पस्कँदै ३७ औँ मिनेटमा व्यतिगत दोश्रो तथा टिमको लागि तेश्रो गोल गोल गर्न सफल भइन् । लगत्तै सावित्राले त्यसको ३ मिनेटपछि ४० औँ मिनेटमा गोल गरी ह्याट्रिक पुरा गरिन् । राष्ट्रिय खेलाडीले भरिएको एपिएफसामु प्रदेश १ पहिलो हाफमा नीरिह नै देखियो । पहिलो हाफमा ४ शुन्य गोलले पछि परेका अवस्थामा नयाँ रणनीतिका साथ मैदान प्रवेश गरेको प्रदेश १ ले दोश्रो हाफमा पनि लय समात्न सकेन । त्यसको फाइदा उठाउँदै एपिएफले पुन गोलको श्रृङखलालाई निरन्तरता दियो । दोश्रो हाफ सुरु भएको २ मिनेटभित्रै ४८ औँ मिनेटमा एपिएफले पाँचौँ गोल गर्यो । त्यसमा पनि सावित्रा भण्डारी नै नायक बन्दै व्यक्तिगत चौथो गोल गरिन् । त्यस्तै खेलको ५२ मिनेटमा सावित्राको पासमा जर्सी नम्बर १४ की अनिता केसीले छैठौँ गोल गरिन् । त्यसपछि पनि एपिएफले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन । करिब २५ प्रतिशत मात्र बल आफ्नो पक्षमा पारेको प्रदेश एकदुई पटक मात्र विपक्षीको पोष्टमा प्रहार गर्ने मौका पायो । तर गोल हुन सकेन । बाँकी समयमा दुवै समुहबाट गोल हुन नसकेपछि ६ शुन्यले एपिएफले खेल आफ्नो पक्षमा पार्यो । खेलमा ४ गोल गरिेकी दक्षिण एसियाकै उत्कृष्टमध्ये १ खेलाडी सावित्रा म्यान अफ दि म्याच घोषित भइन् । उनलाई प्रमुख जिल्ला अधिकारी तथा उद्घाटन सत्रका प्रमुख अतिथि अर्जुन पोख्रेल र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष छविलाल रेश्मीले ट्रफी प्रदान गर्नु भएको थियो । यस्तै आजै भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ४–० ले हराउँदै गण्डकी प्रदेश विजयी भएको छ । खेल शुक्रबारसम्म चल्ने छ । आठौँ खेल अन्तर्गत दाङ र कपिलवस्तुमा महिला फुटवल भइरहेको छ । दुवै स्थानका विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७६ बुधबार ००:००  १२ : ५५ बजे