१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

राष्ट्रिय फुटवलः गण्डकी प्रदेशको विजयी सुरुवात, कर्णालीको लज्जास्पद हार



चन्द्रकान्त न्यौपाने, वाणगंगा ।

आठौं राष्ट्रिय खेलकुद अन्तरगत कपिलवस्तुमा सुरु भएको महिला राष्ट्रिय फुटवलमा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । बुद्ध रंगशालामा बुधबार विहानबाट सुरु भएको खेलमा कर्णाली प्रदेशलाई ४–० ले हराउँदै गण्डकीले विजयी सुरुवात गरेको हो । लिगकम नकआउटको अधारमा खेलाइएको खेलमा जितसंगै गण्डकीले स्पष्ट ३ अंक बटुलेको छ । खेल सुरु भएको १७ औँ  मिनेटबाटै जर्सी नम्बर ११ की मनिषा पंगेनीको गोलबाट खाता खोलेको गण्डकीले अन्त्यसम्म थप ३ गोल गर्यो । खेलको  पहिलो हाफको २९ औँ मिनेटमा जर्सी नम्बर ९ की उद्या थापाले अग्रता दोब्बर पारिन् । त्यसपछि पहिलो हाफ २–० का नतिजामा सम्पन्न भयो ।

पहिलो हाफमा तुलनात्मक रुपमा कमजोर देखिएको कर्णाली प्रदेश दोश्रो हाफमा पनि लयमा फर्कन सकेन । उल्टै २ गोल खायो । दोश्रो हाफको पहिलो मिनेटमैैँ गण्डकीकी जर्सी नम्बर ११ की ननिता गुरुङले व्यक्तिगत पहिलो तथा टिमको लागि तेश्रो गोल गरिन् । कर्णालीलाई निरन्तर दबाबमा राखेको गण्डकीको गोलको श्रृङखला रोकिएन ३६ औँ मिनेटमा जर्सी नम्बर ९ की उद्या थापाले आकर्षक गोल गरिन् । कर्णालीको कमजोर डिफेन्स र किपरलाई छलाउँदै गरेको उनको प्रहारले जाली चुम्दा गोल संख्या ४ पुग्यो ।

खेल अवधिभर दबाबमा देखिएको कर्णालीले गोल गर्ने प्रयास गरे पनि एक गोल फर्काउन नसक्दा आठौँ राष्ट्रिय महिला फुटवलमा ४–० को निरासाजनक सुरुवात गर्यो । आजको खेलमा दोश्रो हाफको पहिलो मिनेटमै गोल गरेकी ननिता गुरुङ म्या अफ दि म्याच बनिन् । उनलाई जिल्ला खेलकुद विकास समिति कपिलवस्तुका अध्यक्ष छविलाल रेश्मीले ट्रफी प्रदान गर्नु भएको थियो ।

प्रतियोगिताको दोश्रो खेलमा बुधबार साँझ ४ बजे राष्ट्रिय टिमकी चर्चित खेलाडी सावित्रा भण्डारी सम्मिलित सशस्त्र प्रहरीको एपिएफले  प्रदेश नं.१ को सामना गर्ने छ । यो खेल पनि निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । त्यस पूर्व खेलको औपचारिक सत्र सुरु हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६ बुधबार ००:००  ५ : ४४ बजे