मायादेवी अनलाइन, वाणगंगा ।
संघीय सांसद अत्तहर कमालले मुलुकमा नैतिक शिक्षाको अभाव भएको बताउनु भएको छ । नैतिक शिक्षाको अभावमा पछिल्लो समय मुलुकमा संस्कारमा ह्रास आएको भन्दै अब सबै कलेज र स्कुलहरुमा नैतिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । पूर्व क्याम्पस प्रमुख बालाराम ज्ञवालीको विदाई तथा सम्मानमा मंगलबार सिद्धार्थ क्याम्पस संचालक समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कमालले सो कुरा बताउनु भएको हो ।
विश्वमा प्रविधिले जतिसुकै फड्को मारे पनि नैतिक शिक्षा बिना त्यो अपुरो हुने उहाँको भनाई छ । पूर्व क्याम्पस प्रमुख ज्ञवालीसंग आफु धेरै नजिक भएको भन्दै कमालले जीवनकै उर्जाशिल उमेर कपिलवस्तुको शैक्षिक उन्नयनमा खर्च गरेर ज्ञवालीले ठुलो योगदान दिनु भएको बताउनुभयो ।
सिद्धार्थ क्याम्पसले स्थापनाको छोटो समयमा धेरै प्रगति गरेकोमा मुक्तकण्ठले प्रशंसा गर्दै कमालले भन्नुभयो–“यस कार्यमा बालाराम ज्ञवालीको महत्वपूर्ण भूमिका छ । उहाँको कार्यकालमा क्याम्पसले धेरै उपलब्धि हासिल गरेको छ, अब क्याम्पसलाई यस क्षेत्रकै पहिलो आंगिक क्याम्पस बनाउनु पर्दछ ।” सांसद कमालले अब सिद्धार्थ क्याम्पसले चाँडै नै नैतिक शिक्षामा पठनपाठन गराउनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– “नैतिक शिक्षाको जगमा टेकेर प्रदान गरिएको शिक्षाले मात्र मुलुकको धार्मिक, सामाजिक र सांस्कृतिक परिवर्तन ल्याउँछ ।” उहाँले अब क्याम्पसलाई प्रदेशकै अग्रणी क्याम्पस बनाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले सिद्धार्थ क्याम्पसमा ज्ञवालीको योगदान अविष्मरणीय रहेको भन्दै प्रशंसा गर्नुभयो । सिद्धार्थ क्याम्पस जिल्लाको मात्र नभएर प्रदेशकै धरोहर भएको हुँदा यसको श्रीवृद्धिको लागि नगरपालिकाले सबै सहयोग गर्ने बताउनुभयो । तत्कालको लागि नगरपालिकाले क्याम्पसको लागि १ करोड पाँच लाख विनियोजन गरेको भन्दै भावी दिनमा पनि सहयोग गर्ने बताउनुभयो ।
क्याम्पस संचालक समितिका अध्यक्ष झविलाल पोख्रेलले क्याम्पसको विकासमा धेरै क्षेत्रबाट सहयोग रहेको भन्दै सबैलाई धन्यबाद दिनुभयो । अवकाश प्राप्त ज्ञवालीको कार्यकालमा क्याम्पसले थुप्रै उपलब्धि हासिल गरेको भन्दै प्रशंसा गर्नुभयो ।
क्याम्पसले धेरै राम्रो उपलब्धि हासिल गरे पनि क्याम्पसमा कहिलेकाही बिभिन्न विवाद र समस्या आएको बताउनुभयो । अहिले क्याम्पस जग्गा विवादमा रहेका कारण संवादबाट त्यसको निकास निकाल्नु पर्नेमा उहाँले जोड दिँदै भन्नुभयो–“क्याम्पसको जग्गा विवाद समाधानको लागि पूर्व प्रमुख ज्ञवालीले साथ दिनुपर्दछ ।”
अवकाश प्राप्त ज्ञवालीले भावी दिनमा क्यामपसको हितको लागि सबै सहयोग रहने बताउँदै आफ्नो कार्यकाललाई सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यबाद दिनुभयो । क्याम्पसका पूर्व अध्यक्ष कृष्ण पोख्रेलले पनि ज्ञवालीको कार्यकालमा क्याम्पसले थुप्रै सफलता हासिल गर्नुभयो ।
स्ववियु सभापति शुशिल खत्रीले क्याम्पसको विकासमा ज्ञवालीको योगदान अतुलनीय रहेको भन्दै क्याम्पसको अतिक्रमित जग्गा तुरुन्त फिर्ता ल्याउनुपर्ने बताउनुभयो । उहाँले क्याम्पसको जग्गामा अझै पनि घर टहरा बन्ने क्रम जारी रहेकाले अटेर गरिए अब विद्यार्थीहरु नै घरहरु भत्काइदिने चेतावनी दिनुभयो ।
क्याम्पसका उपाध्यक्ष रवि बहादुर काफ्लेको स्वागत, सह प्राध्यापक गोविन्द खनालको संचालनमा सम्पन्न कार्यक्रममा निवर्तमान ज्ञवालीलाई सम्मान गरिएको थियो । क्याम्पस संचालक समिति र कर्मचारीको तर्फबाट दोसल्ला कदरपत्रले उहाँलाई सम्मान गरिएको थियो । यस्तै क्याम्पसमा लामो समय देखि योगदान पु¥याएको भन्दै दिलमाया मगरलाई पनि सम्मान गरिएको छ ।
३ बैशाख २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया