मायादेवी अनलाइन, वाणगंगा ।
दिनभर चर्को घाम लागिरहेको अवस्थामा प्रदेश ५ का बिभिन्न जिल्लाहरुमा मंगलबार दिउँसो ४ बजेदेखि हावाहुरीसंगै बर्षा भएको छ । हावाहुरीसंगै आएको बर्षापछि स्थानीय त्रसित भएका छन् । मौसमविद्ले अनुमान गरेजस्तै मौसममा अकस्मात् बदली भएको हो । मौसममा बदली आएपछि बाहिर चहलपहल पनि अकस्मात् कम भएको छ । आकस्मात आएको हावाहुरीका कारण जिल्लाका बिभिन्न स्थानमा भौतिक क्षति पुर्याएको छ ।
बाणगंगा ११ मर्थिमा रुख ढलेर घरमा क्षती पुर्याएको छ भने गजेहडामा पनि केहीको घरमा क्षती पुगेको छ । मर्थीका अम्बर बहादुर रानाको घरमा रुख ढलेर तीन लाख बढीको क्षति भएको स्थानीय कमल घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार सिमलको रुख ढलेर घर माथि आएपछि घर भत्केको छ । घर भत्किए घरभित्रका सरसामानमा क्ष्ति भए पनि मानवीय क्षति भने भएको छैन ।
मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि ३ दिनसम्म ठुलो हावाहुरी र चट्याङको सम्भावना रहेको बताएको थियो । हामीलाई प्राप्त भएको जानकारी अनुसार देशभर नै यस्तो हावाहुरीको सम्भावना भएकाले अबको ३ दिन सचेत रहन सबैलाई आग्रह गरेको छ ।
केहीछिन मौसम खुलेकोजस्तो देखिए पनि त्यसले झुक्याउन सक्ने भएकाले सकेसम्म बाहिर नहिँड्न, सवारी नचलाउन आग्रह गरिएको छ । यस्तै प्रदेश ४ का जिल्लाहरुमा पनि मौसममा बदली भएको छ ।
स्थानीय दुबानाथ न्यौपानेले पोखरामा अहिले मौसममा बदली आई हावाहुरी र बर्षा भएको बताउनु भएको छ भने स्थानीय राम प्रसाद पाण्डेका अनुसार गुल्मीमा आकाश गर्जिएको छ । पानी र हुरी आउने सम्भावना देखिएको छ । बुटवलकी स्थानीयबासी चित्रा शर्माले बुटवलमा पनि हावाहुरीसंगै बर्षा भइरहेको मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
यसका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । मंगलबार राति पनि पश्चिमि भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेर पश्चिमी भूभागका धेरै जसो स्थानमा र पूर्व र मध्यका केही स्थानमा मेघ गर्जन–चट्टयांग तथा हुरी बतास सहित वर्षा र असिना पानीको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
३ बैशाख २०७६ मंगलबार ००:००
2
Shares
प्रतिक्रिया