काठमाडौं ।
चीनले विश्वको सर्वाेच्च शिखर सगरमाथामा वातावरणमैत्री शौचालय बनाउने भएको छ । सगरमाथा आरोहणमा जानेको संख्या बढ्दै जाँदा त्यहाँ फोहोर पनि बढेकाले सगरमाथा स्वच्छ बनाउन चीनले शौचालय बनाइदिन लागेको हो ।
पर्यावरणअनुकूल बनाइने यो शौचालय सगरमाथाको ७ हजार २८ मिटरको उचाइमा एक चिनियाँ शिविरमा राखिने छ ।
सगरमाथामा गएको कैयौं दशकदेखि व्यापारिक पर्वतारोहण बढ्दै गइरहेको छ । पर्वतारोहीको संख्या बढ्दा सगरमाथामा फोहोरको डंगुर जम्मा हुन थालेको छ । ठूलो धनराशी खर्च गरेर सगरमाथा चढ्न पुग्ने पर्वतारोहीले फोहोर व्यवस्थापनमा भने खासै चासो नदिने गरेको पाइएको छ ।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार पर्वतारोहणको अहिलेको सिजनमा चीनको एक कम्पनीले तिब्बतका तर्फबाट सगरमाथामा वातावरणमैत्री शौचालय उपलब्ध गराउन लागेको हो ।
तिब्बती पर्वतारोहण एसोसिएशनका उपमहासचिव पेमा टिनलीका अनुसार सगरमाथामा राखिने शौचालयमा मानव शौच जम्मा गरिने र भरिएपछि पर्वतको तल ल्याइनेछ । सगरमाथामा राखिने यो शौचालय अस्थायी रहने र पर्वतारोहणको सिजन समाप्त भए लगत्तै हटाइने पनि उहाँले बताउनुभयो ।
२ बैशाख २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया