१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

यस्तै छ गरिबको जीन्दगी, आर्थिक अभावले उपचारकै आशमा वर्षदिन वित्यो



सीताराम चौधरी, कपिलवस्तु ।
सामान्य परिवारमा जन्मनु भएका उहाँ । सम्पत्तिको नाममा सुकुम्बासीको घरघडेरी मात्र । हातमा आकर्षक भवन निर्माण गर्न सक्ने डकर्मीको सीप कला छ उहाँमा । उमेरले अहिले उहाँ भर्खर २९ वर्षका हुनुहुन्छ । आमा बाबा, श्रीमती र १ छोरी छन्, उहाँको घरमा । हातको कला सीप प्रयोग गरेर परिवारको जीवनस्तर उकास्ने मनमा ठूलो सपना थियो उहाँमा । तर एकाएक उहाँको जीवनमा नसोंचेको बज्रपात आइलाग्यो । उहाँ अहिले अरुको सहारामा बाँच्नुपरेको छ । उहाँ हुनुन्छ २९ वर्षीय प्रेमबहादुर चौधरी (थारु) ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५, चन्द्रौटा नजिकै नवडिहवाको उत्तरपट्टिको सुकुम्बासी बस्तीमा घर छ उहाँको । परिवारको गुजारा चलाउन उहाँ वर्षअघि भारतको उतरौला भन्ने ठाउँमा घर निर्माण गर्न पुग्नुभएको थियो । ९ दिनसम्म काम गरेर घर फर्किएको चौधरी बताउनुहुन्छ । तर नयाँ वर्ष आउनै लाग्दा खर्चको जोहो गर्न उहाँ फेरि त्यही ठाउँमा गएको बताउनुहुन्छ ।
घर निर्माणका क्रममा दुई तल्लामाथि बाँसको खत बाँध्ने क्रममा उहाँ गत वर्षको बैशाख १ गतेकै दिन माथिबाट खसेर घाइते हुनुभएको हो । उपचारका लागि उहाँलाई लखनऊ लगियो । तर अर्काको देशमा उहाँले राम्रो उपचार पाउनुभएन । अहिले उहाँको कम्मरदेखि तल्लो भाग चल्दैन । मनमा बुनेको उहाँको सपना चकनाचुर भयो । उहाँ अहिले अरुको सहारामा जीवन जिउन बाध्य हुनुभएको छ । परिवार पाल्ने बेला अहिले उहाँ परिवारकै सहारामा बाँचिरहनुभएको छ ।
तल्लो भाग नचल्ने हुँदा दिसा पिसाब गरेको पनि उहाँले थाहा पाउनुहुन्न । तर उहाँको शरीरको माथिल्लो भाग भने साङ्ग सरह चल्छ । उहाँ हामीजस्तै कुराकानी गर्न सक्नुहुन्छ र हातले पनि केही गर्न सक्नुहुन्छ । आर्थिक अभावमा उपचार गर्न नसक्दा गहभरि आँसु लिएर चौधरीले दुखेसो पोख्नुभयो । आफूले केही गर्न चाहेको उहाँ बताउनुहुन्छ । तर तल्लो भाग नै नचलेपछि परिवारकै सहारामा बाँचेको उहाँको भनाई छ ।

शारीरिक अपांगता भएका व्यक्तिले गरे अपांगता चौधरीलाई आर्थिक सहयोग

शारीरिक रुपले अपांगता भएका सन्तोषराज आचार्यले नवडिहवा सुकुम्बासी बस्तीका प्रेम बहादुर चौधरीलाई आर्थिक सहयोग गर्नुभएको छ । शारीरिक रुपले आचार्य पनि नक्कली खुट्टाकै सहाराले बाँच्नुभएको छ । तर उहाँ साङ्ग सरह काम गर्न सक्नुहुन्छ । उहाँ आफैंले कमाएर परिवारको जीविका चलाउँदै आउनुभएको छ । आफूले जस्तै हाँसी खुशीका साथ नयाँ वर्षमा मिठो मसिनो खाउन् भन्ने उद्देश्यका साथ आर्थिक सहयोग गरेको आचार्य बताउनुहुन्छ । बैशाख १ गतेकै दिन चौधरीकै घरमा पुगी आचार्यले आफ्नी छोरी सजिना आचार्यको हातबाट आफूले कमाएको रकमबाट थोरै भएपनि सहयोग गरेको बताउनुभयो ।
यता शिवराज नगरस्तरीय अपांगता समितिका अध्यक्ष दिपक खडकाले चौधरी भाइको दुःखमा मल्हम लगाउने काम गरेकामा सन्तोष आचार्यलाई धन्यबाद दिनुभयो । चौधरी भाइले राम्रो उपचार पाएमा केही गर्न सक्ने खडकाको विश्वास छ । उहाँले शारीरिक अपांगता भएका चौधरी भाइको उपचारका लागि सहयोगी हात अगाडि बढाउन सबैसँग आग्रह गर्नुभयो ।
चौधरीकै घरमा पुग्नुभएका राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णुप्रसाद खतिवडाले चौधरीको उपचारका लागि आफूले समेत सक्दो पहल गर्ने जनाउनुभयो । संसारमा दानबीरहरुको कमी छैन । चारैतर्फबाट सबैले थोरै थोरै सहयोग जुटाएमा चौधरी भाइले नयाँ जीवन पाउने खतिवडाले विश्वास व्यक्त गर्नुभयो । यसका लागि देश तथा विदेशमा रहनुहुने सबै दानबीरहरुलाई चौधरीको उपचारका लागि आर्थिक सहयोग जुटाउन अपिल गर्नुभएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६ सोमबार ००:००  १ : २५ बजे