मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुका स्थानीयबासीले नयाँ बर्ष २०७६ ले मुलुकमा दण्डहिनता र अपराधका घटनामा कमि आउने विश्वास गरेका छन् । वि.सं २०७५ सालमा मुलुकमा हत्या, हिंसा, बलत्कार, अपराधजन्य घटना घटेका कारण अब २०७६ सालमा ती घटनामा न्यूनिकरण हुने जिल्लाबासीले विश्वास गरेका हुन् ।
२०७५ सालको विदाईसंगै २०७६ सालको सुरुवात भएको अवसरमा मायादेवी अनलाइनसंग आफ्नो धारणा राख्ने क्रममा बाणगंगा नपा १ झुँगाकी सुनिता सेनले भन्नुभयो, “कपिलवस्तु जिल्लामा पनि यस बर्ष आपराधिक घटना घटेका छन्, अबका बर्षमा ती घटना कम हुने छन् भन्नेमा आशावादी छौँ ।”
झुँगामा डेढ महिनाअघि अनिता पौडेलको विभत्स हत्या भएको सम्झँदै सेनले थप्नुभयो, “नयाँ बर्ष २०७६ सालमा यस्ता घटना कही कतै घटेको सुन्न नपरोस्, सुरक्षा निकायले पनि आम जनताको सुरक्षामा भरपर्दो ढंगले काम गरोस ।”
बाणगंगा नपा १ राजपुरका टिका निधि न्यौपानेको पनि धारणा यस्तै छ । अहिले जिल्लाभित्र तथा बाहिर अपराधजन्य घटनाले जनतामा त्रास सिर्जना गरेको छ । हाम्रो चाहना मुलुकमा यस्ता दण्डहिनताका घटना नघटुन् भन्ने चाहना छ । यदि कसैले नियोजित ढंगबाट त्यस्ता घटना घटाएको भए तुरुन्त कारबाही गरेर दण्डहिनताको अन्त्य हुनुपर्दछ न्यौपानेले भन्नुभयो ।
बाणगंगा ८ की विद्यार्थी सपना बेल्बासेले अझै पनि निर्मलाका परिवारले न्याय नपाएको भन्दै २०७६ सालमा उनले न्याय दिने विश्वास व्यक्त गर्नुभयो । मुलुक समृद्धिको दिशामा अघि बढेको भन्दै चन्दा आतंक छोडेर सबैजना मुलुकको समृद्धिमा लाग्नु पर्दछ बाणगंगा ४ का ७५ बर्षिय खिमानन्द न्यौपानेले पनि मुलुकको लागि शान्ति सुरक्षा चुनौतिपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो– “हामीले समाचार सुने अनुसार कपिलवस्तुमा मात्र विगत ६ महिनामा ६ वटा हत्याका घटना घटेका रहेछन् ।”
यो जिल्लाबासीको लागि निकै दुखद् कुरा हो । यसले यहाँको शान्ति सुरक्षामा ठुलो चुनौती थपेको देखिन्छ । यस बिषयमा सम्बन्धित निकाय चनाखो हुनु पर्दछ । जितपुर टोल विकास समितिका अध्यक्ष मदन ढुंगानाले पछिल्लो समय जिल्लाका केही भाग लागु औषधको ट्रान्जिट प्वाइन्ट बनेको भन्दै यसले पनि युवाहरुलाई अपराधमा संलग्न हुन भुमिका खेलेको बताउनु भयो ।
दण्डहिनताले प्रश्रय पाउनुमा लागु औषधको धन्दा प्रमुख कारण भएको भन्दै उहाँले भन्नुभयो– “लागु औषध कारोबारीलाई समातेर भकाभक कारबाही नगरेसम्म २०७६ साल पनि जिल्लाबासीको लागि त्यति सुखद नहुन सक्छ ।”
यस्तै अन्य ब्यक्तिहरुले पनि अब २०७६ सालमा बलात्कार, हत्या, हिंसा, लागुऔषधको कारोबार जस्ता अवैध कार्य बन्द भई जिल्लामा शान्ति र सुव्यवस्था छाउनेमा विश्वास व्यक्त गरेका छन् ।
१ बैशाख २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया