१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध



दाङ ।

दाङको राजपुर गाउँपालिकाले सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । घरमा सुत्केरी हुँदा आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा पर्ने भएकोले स्वास्थ्य संस्थामा सुत्केरी हुनेपर्ने सन्देश दिन एम्बुलेन्स सेवा निःशुल्क गरेको राजिपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बताउनुभयो । ‘हाम्रो गाउँपालिका नागरिकको शिक्षा, स्वास्थ्यसहित अन्य आधारभूत सेवा प्राप्त गर्नबाट पछि परेको अवस्था छ’, उनले भने,‘महिला स्वास्थ्यमा सुधार ल्याउन यस्तो उपाय अपनाएका हौँ।’

गाउँपलिकाले एम्बुलेन्स सेवा निःशुल्क गरेपछि स्वास्थ्य संस्थामा पुगरे सुत्केरी हुने दर बढेको छ। राजपुर गाउँपालिकामा रहेका दुईवटा स्वास्थ्य संस्थामा यस वर्ष २ सय २६ जनाले बच्चा जन्माएका छन् ।

‘हाम्रो गाउँपालिकामा रहेका महिलाहरुको स्वास्थ्य अवस्था निकै जटिल छ। सीमा क्षेत्रमा पुग्दा पेट भित्रै बच्चाको मृत्यु भएको तर आमाले थाहा नपाएको अवस्थामा एकजना महिलालाई फेला पारेका थियौँ। पछि उहाँको उपचार गरेर आमालाई बचाउन सकियो’, गाउँपालिकाकी उपाध्यक्ष धनपती यादवले भनिन्,–‘आमाहरुलाई लक्षित गरेर स्वास्थ्य सम्बन्धी कार्यक्रम चलाउने योजनामा छौँ ।

राजपुर गाउँपालिकामा एकवर्षको अवधिमा उपचारको अभावमा दुई जना सुत्केरीले ज्यान गुमाएका थिए ।

गाउँपालिकाले एम्बुलेन्स सेवा निशुल्क गरेपनि सडक नहुँदा सेवा उपभोग गर्नबाट विकट बस्तीका नागरिक वञ्चित छन्। यातायातको सुविधा नहुँदा तीन घण्टा पैदल हिडेर स्वास्थ्य संस्था पुग्नुपर्ने वाध्यता छ ।

‘जहाँ सडक पुगेको छ, त्यहाँका नागरिकले मात्रै सुविधा उपभोग गर्न पाउनुभएको छ। हामीले गाउँपालिकाको विकट र दुर्गम बस्तीसम्म सडक सञ्जाल र्पुयाउने योजना बनाएका छौँ’, गाउँपालिकाका अध्यक्ष केसीले भने, ‘सीमा क्षेत्रमा सडक सुविधा र्पुयाउन खोजिरहेका छौँ। सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नेपालकै स्वास्थ्य संस्थामा उपचार गर्ने वातावरण बनाउनु पर्ने जरुरी ठानेका छौँ।’

नेपाल भारत सीमा क्षेत्रको नेपाली बस्तीका नागरिक सामान्य औषधी उपचारको लागि समेत भारत जानुपर्ने बाध्यता छ। सडक नहुँदा एम्बुलेन्ससम्म पुग्न नसक्दा यस क्षेत्रका नागरिकले सेवा सुविधा उपभोग गर्न जटिलता छ।

प्रकाशित मिति : ३० चैत्र २०७५ शनिबार ००:००  ५ : १२ बजे