मायादेवी अनलाइन, वाणगंगा ।
आठौं राष्ट्रिय खेलकुद अन्तर्र्रगत कपिलवस्तुमा सम्पन्न महिला तर्फको कुस्तिमा प्रदेश १ ले एउटा मात्र स्वर्ण जितेको छ । शुक्रबार विहान सम्पन्न खेलमा प्रदेश १ को तर्फबाट ७६ केजी तौल समुहमा श्रीजासुले प्रदेश १ को लागि पहिलो स्वर्ण दिलाएकी हुन् । उनले प्रदेश ७ की मोतीका चन्दलाई हराउँदै स्वर्ण जितेकी हुन् । निकै प्रतिस्पर्धात्मक खेलमा जासुले स्वर्ण जितेर प्रदेशकै इज्जत राखेकी छन् । प्रदेश १ बाट अरु खेलाडीहरुले सहभागीता जनाए पनि कुनैले स्वर्ण पदक प्राप्त गर्न सकेनन् ।
स्वर्ण जितेपछि मायादेवी अनलाइनसंग उनले खुसी व्यक्त गरेकी छन् । उनले भनिन्–“ स्वर्ण जित्छु लागेको थिएन । मिहिनेत गरेमा हुने रैछ । आफ्नो प्रदेशको इज्जत राख्न पाएकी छु धेरै खुसी छु ।” भावुक हुँदै मिडियासामु प्रस्तुत भएकी जासुले भनिन्–“यो जितले मलाई धेरै खुसी बनाएको छ । यसको श्रेय म मेरो कोच र परिवारलाई दिन चाहान्छु । भोलीको दिनमा यसैगरी देशको इज्जत राख्ने गरी खेल खेल्ने छु । ”
यसभन्दा अगाडी उनी कबड्डी खेल खेल्दै आएकी थिइन् । पहिलो पटक कुस्तीमा सहभागी जनाएको उनले बताइन् ।
प्रतिक्रिया