१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

पाकिस्तानमा बम विस्फोट, कम्तीमा १६ जनाको ज्यान गयो



एजेन्सी ।
पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेटाको हजारगञ्ज इलाकामा भएको बम धमाकामा १६ जनाले ज्यान गुमाएका छन् । स्थानीय प्रहरीका अनुसार, यो धमाका शुक्रबार बिहान करिब ८ बजे हजारगञ्ज इलाकाको तरकारी बजारमा भएको हो ।
समाचार संस्था एपीपीले यो धमाका बजार नजिकै रहेको प्रहरीको भ्यानलाई लक्षित गरेर गरिएको जनाएको छ । धमाकापछि सुरक्षाबलले इलाकालाई चारैतर्फबाट घेरेको छ । बम डिस्पोजल टोलीलाई पनि घटनास्थलमा पठाइएको छ ।
बम धमाकामा घाइते भएकाहरुलाई अस्पताल लगिएको छ । प्रहरीका अनुसार, हजारगञ्जमा हजारा सिया समुदायका मानिसहरुको बाहुल्यता रहेको छ । अन्तर्रा्ष्ट्रिय समाचार संस्थाका अनुसार, धमाकामा परेर ज्यान गुमाउने र घाइते हुनेहरुमा अधिकांश उनीहरु नै रहेका छन् ।
पाकिस्तानमा हजारा सिया समुदायलाई निशाना बनाएर पटक–पटक आक्रमण हुँदै आएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७५ शुक्रबार ००:००  ७ : ३२ बजे