संजीव गहतराज, चन्द्रौटा ।
शिवराज नगरपालिकाले पूर्ण साक्षर नगर घोषणा गर्नका लागि विद्यालयहरुलाई परिचालन गर्ने भएको छ । विहीबार बसेको पुर्ण साक्षर नगर घोषणा समितिको बैठकमा नगरका माध्यमिक तहका ८ वटा विद्यालयलाई परिचालन गर्ने बैठकका अध्यक्ष नगर प्रमुख नेत्रराज अधिकारीले जानकारी दिनुभयो । गत वर्षहरुमा संचालन भएका साक्षरता कार्याक्रमहरु प्रभावकारी नभएकोले अब माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरुले साक्षरता कक्षा संचालन गर्ने गरी नविनतम प्रयासको खोजि गर्ने नगर प्रमुख नेत्रराज अधिकारीले जानकारी दिनभयो ।
साथै अषाढ मसान्त भित्र साक्षर नभएका नागरिकहरुलाई नगरपालिकाबाट पाउने सेवाबाट समेत बन्चित गर्ने नगर प्रमुख अधिकारीले बताउनुभयो । नगरका २, ३, ४, ५, ६, ७, ८ र ११ वडाहरुमा कुल ६ हजार ६ सय २७ निरक्षर रहेको प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताउनभयो । नगरलाई पूर्ण साक्षर नगर घोषणा गर्नका लागि ८ वटा माध्यमिक तहका विद्यालय छनौट गरी बैशाखको १५ गते पछि कक्षा संचालन गर्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।
यो भन्दा पहिले प्युठान जिल्लामा आफैले संचालन गरेको साक्षरता कक्षामा विद्यार्थी सहजकर्ता हुने कार्यक्रम सफल भएकोले यस नगरमा पनि सफल हुने शिक्षा शाखा प्रमुख पूर्ण बहादुर वि.कले बताउनुभयो । अंक तथा अक्षर पढ्ने लेख्ने, बाटोको चिन्हरु पढ्न सक्ने लगाएत हस्ताक्षर गर्न सक्ने सुचकहरु रहेको शिक्षा शाखा प्रमुख वि.कले बताउनुभयो ।
बैठकले समयथान मा.वि खरेन्द्रपुर, रंगीलाल मा.वि सड्वा, त्रिभुवन आर्दश मा.वि पिपरी, दुर्गा भगवती मा.वि नयाँबस्ती, जनचेतना मा.वि लक्ष्मणपुर र बाल ज्योति मा.वि विशुनपुरका ३७० जना शिक्षक विद्यार्थीहरु परिचालन गर्ने निर्णय गरिएको छ । कार्यक्रममा नगर अध्यक्ष नेत्रराज अधिकारीको अध्यक्षतामा ९ सदस्य पूर्ण साक्षर नगर घोषणा समिति समेत गठन गरिएको छ ।
प्रतिक्रिया