एजेन्सी,
च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब युभेन्टस र डच क्लब अजाक्सले बराबरी खेलेका छन् ।अजाक्सको मैदानमा भएको खेलमा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोसहितको इटालियन क्लब युभेन्टस १–१ को बराबरीमा रोकिएकोा हो । पहिलो हाफमा रोनाल्डोको गोलबाट अग्रता लिए पनि युभेन्टसले त्यसलाई जोगाउन सकेन ।
४५ औँ मिनेटमा रोनाल्डोले भ्रमण टोली युभेन्टसका लागि गोल गरेका हुन् । दोस्रो हाफको पहिलो मिनेटमा नै डेविड नेरिसले अजाक्सका लागि बराबरी गोल फर्काए । अघिल्लो चरण प्रवेशका लागि दुवै टिमको सम्भावना बराबरीले बराबर बनाएको छ । दोस्रो लेग अप्रिल १६ मा युभेन्टसको मैदानमा हुनेछ ।
पहिलो हाफको अन्तिममा गोल गरेर टिमलाई अग्रता दिलाएका रोनाल्डोले च्याम्पियन्स लिगमा १२५ औँ गोल गरेका छन् । रोनाल्डो लगातार चौथो सिजन च्याम्पिमयन्स लिग फुटबलको उपाधि जित्ने होडमा छन् । उनले रियल मड्रिडबाट लगातार तीन सिजन उपाधि जितेका छन् ।
यहि सिजन युभेन्टस आएका रोनाल्डोले च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा ह्याट्रिक गर्दै एथ्लेटिको मड्रिडसँगको खेलमा युभेन्टसलाई ३–२ को जित दिलाएका थिए । त्यसपछि उनी पहिलोपटक बुधबार रातिको खेलमा मैदानमा आएका हुन् ।
रोनाल्डो अन्तर्राष्ट्रिय ड्युटिको क्रममा चोटग्रस्त भएका थिए । रोनाल्डोको गोलले अब युभेन्टसलाई घरेलु मैदानमा हुने दोस्रो लेगमा गोलरहित बराबरी मात्रै गरे पनि अन्तिम चारमा पुग्ने सम्भावना बनाएको छ ।
च्याम्पियन्स लिगका सर्वकालीन सर्वाधिक गोलकर्ता रोनाल्डो दोस्रो स्थानमा रहेका बार्सिलोनाका लियोनाल मेस्सी भन्दा १७ गोलले अघि छन् ।
बुधबार राति भएको क्वाटरफाइनलको पहिलो लेगमा ४५ औँ मिनेटमा गोल गरेका हुन् । म्यानचेस्टर युनाइटेड र रियल मड्रिडका पूर्व खेलाडी रोनाल्डोले हेड मार्फत गरेको गोल उनले प्रतिस्पर्धामा गरेको १२५ औँ गोल बन्यो ।
रोनाल्डोले च्याम्पियन्स लिगमा १६१ खेलमा १२५ गोलको आँकडा पूरा गरेका हुन् । प्रतिस्पर्धाका सर्वकालीन सर्वाधिक गोलकर्ता रोनाल्डो दोस्रो स्थानमा रहेका बार्सिलोनाका लियोनल मेस्सी भन्दा १७ गोलले अघि छन् । झण्डै तीन वर्षले कान्छा मेस्सीले रोनाल्डोको आँकडा छोलान् त ?
३४ वर्षका रोनाल्डोले सन् २००३ मा म्यानचेस्टर युनाइटेडबाट च्याम्पियन्स लिगमा डेब्यु गरेका थिए । तर उनले गोल गर्न भने चार वर्ष पर्खिनु परेको थियो ।
उनले सन् २००७ को अप्रिल १० मा च्याम्पियन्स लिगमा पहिलो गोल गरे । रोमालाई म्यानचेस्टर युनाइटेडले ७–१ ले हराउने क्रममा रोनाल्डोले पनि गोल गरेका थिए ।
उनले त्यसपछिका १२ वर्षको अवधिमा १२५ गोल गरेका छन् । पहिलो गोल गरेको १२ वर्षपछि रोनाल्डो प्रतिस्पर्धामा १२५ गोलको आँकडा छुने पहिलो खेलाडी बनेका छन् ।
रोनाल्डोले यो सिजन ८ खेलमा पाँच गोल गरेका छन् । प्रतिस्पर्धामा उनको एकै सिजन सर्वाधिक गोल संख्या १७ हो, उनले सन् २०१३–१४ को सिजनमा रियल मड्रिडलाई उपाधि दिलाउने क्रममा १७ गोल गरेका थिए । उनले च्याम्पियन्स लिगमा प्रति खेलमा औषतमा ०.७७ गोल गरेका छन् ।
३१ वर्षका मेस्सीले सन् २००४ को डिसेम्बरमा च्याम्पियन्स लिगमा डेब्यु गरेका थिए । सन् २०११–१२ को सिजनमा आइपुग्दा मेस्सी रोनाल्डो भन्दा १३ गोलले अघि थिए । तर रोनाल्डोले त्यसपछि सन् २०१७–१८ को सिजनसम्म कम्तिमा १० गोल गरे र अघि लागे ।
मेस्सीले च्याम्पियन्स लिगमा १३२ खेलमा १०८ गोल गरेका छन् र यो औषतमा एक खेलमा ०.८१ गोल हो।
मेस्सीको अहिलेको औषत गोल दर कायम रहने र रोनाल्डोले अब गोल नगर्ने हो भने मेस्सीलाई रोनाल्डोको आँकडा छुन च्याम्पियन्स लिगका २१ खेल आवश्यक पर्छ ।
यो सिजन बार्सिलोना फाइनलमा पुग्यो भने मेस्सी सन् २०२०–२०२१ को सिजनको समूह चरणमा १२५ गोलको आँकडा छुन सफल हुनेछन्, जुन बेला मेस्सी ३३ वर्षका हुनेछन् ।
तर रोनाल्डो रोकिने सम्भावना भने देखिँदैन । रोनाल्डोलाई मेस्सी बाहेक अरु कसैले भेट्टाउन सक्ने सम्भावना छैन, कम्तिमा अहिलेका सक्रिय खेलाडीमा । भविष्यको कुरा भविष्यले नै देखाउने छ ।
प्रतिक्रिया