१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

आठौं राष्ट्रिय खेलकुदः कपिलवस्तुमा सुरु भयो कुस्ती खेल



दीपा महत, वाणगंगा । 

आठौं राष्ट्रिय खेलकुद अन्तर्र्रगत कपिलवस्तुमा बुधबार देखि कुस्ती खेल सुरु भएको छ । जिल्लाको वाणगंगा नगरपालिकाको बुङ्चीमा अवस्थित सिद्धार्थ क्याम्पसको सभाहलमा कुस्ती खेल सुरु भएको हो । कुस्ती खेलमा सातै प्रदेश र दुई विभागीय टिमको सहभागीता रहेको छ । चैत्र २९ गते सम्म चल्ने खेलमा महिला र पुरुष सहभागी छन् । कुस्ती खेलका मुख्य प्रशिक्षक मुमताव अलि इद्रीसका अनुसार कुस्ती खेलमा ५१ जना महिला र ८० जना पुरुष खेलाडीले सहभागीता जनाएका छन ।

केही दिन देखि जिल्लामा गर्मी बढ्दो छ । गर्मीको कारण कुस्ति खेल साँझमा सारिएको आयोजकले जनाएको छ । गर्मीको कारण बुधबारको उद्घाटन खेल क्याम्पसको सभाहलमा सञ्चालन गरिएको थियो ।

यसपालिको कुस्ती खेल वर्ड युनाइटेड रेस्लिङ फेडेरेशनको नियम अनुसार खेलाइने मुख्य प्रशिक्षक इद्रीसले बताए । कुस्ति खेलका लागि फिला प्रमाणित म्याट कभर प्रयोग गरिएको उनले जनाए । यस्तो म्याट नेपालमा पहिलो पटक प्रयोग गर्न थालिएको उनको भनाई छ । कुस्ती खेलमा ५० केजी देखि ९० केजी तौल समुहका खेलाडी सहभागी छन् ।

खेल खेल्नका लागि जिल्लामा खेलाडी मंगलबार नै आएका थिए । उनीहरुलाई चारनम्बर जितपुरका विभिन्न होटलमा खान र बस्नको व्यवस्था मिलाइएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष छविलाल रेश्मी मगरले जानकारी दिए । बुधबार उद्घाटसस्त्रको खेल भएको छ ।

बुधबार ५४ जोडीले कुस्ती खेल खेलेका छन् । कुस्ती खेलको युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले उद्घाटन गरे । उद्घाटनसस्त्रमा जिल्लाका जनप्रतिनिधि, सरोकारवाला र संघसंस्थाको प्रतिनिधि सहभागी थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७५ बुधबार ००:००  २ : ५२ बजे