गिता अर्याल, तौलिहवा ।
कपिलवस्तुका अधिकांश विद्यालयमा गुनासो सुनुवाई संयन्त्र निर्माण नभएको सरोकारवालाहरुले बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल कपिलवस्तुले मंगलबार तौलिहवामा आयोजना गरेको सरोकारवालासंगको छलफल कार्यक्रममा सहभागीहरुले यस्तो कुरा बताएका हुन् । कार्यक्रममा विद्यार्थीले भोगेका, देखेका तथा गुनासो गर्ने वातावरण विद्यालयमा नहुँदा विद्यार्थीहरुले विचैमा विद्यालय छाड्ने गरेको सरोकारवालाले बताएका थिए । विद्यालयमा गुनासो सुनुवाई संयन्त्र निर्माण नहुँदा विद्यार्थीहरुको सिकाई उपलब्धी समेत कमजोर हुने गरेको बताइएको थियो ।
शिक्षा विभागले दुई वर्ष अघिदेखि गुनासो सुनुवाई कार्यविधी जारी गरेपनि विद्यालय तहमा कार्यान्वयन नहुँदा समग्र गुणस्तरीय शिक्षामा बाधा पुगेको सहभागीले बताएका थिए । विभागले विद्यालय हाताभित्र, विद्यालय आउदाजाँदा, घरपरिवार र समुदायमा बालबालिका माथि हुनसक्ने सवै प्रकारका भेदभाव, दुव्र्यवहार, शोषण, लैगिंक हिंसा, बेवास्ता वा हेलचेक्रयाइ, शारीरिक वा मानसिक दण्ड सजाय, बुलिङ्ग लगाएतका कार्य रोकथाम गर्ने उद्देश्यले गुनासो सुनुवाई कार्यविधी २०७४ जारी गरिएको हो ।
कार्यविधी अनुसार शुद्धोधन, मायादेवी र यशोधरा गाउँपालिकाका अधिकांश विद्यालयमा गुनासो पेटिका नभएको सहभागी शिक्षकहरुले बताएका थिए । विद्यार्थीमाथि हुने दुव्र्यवहार तथा लैगिंक हिंसा न्यूनिकरणमा गुनासो सम्बन्धी व्यवस्थालाई प्रभावकारी बनाउन सके शैक्षिक गुणस्तर पनि बृद्धि हुने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख बाबुराम भट्टराईले जानकारी दिनुभयो । बालबालिकाको घरायसी कारण तथा विद्यालय हाताभित्र हुने समस्याले पनि विद्यार्थीको पठनपठान प्रभावित हुने गरेको सामाजिक अगुवा शिवलाल यादवले बताउनुभयो । उहाँले विषयवस्तु स–साना भएपनि विद्यार्थीको शैक्षिक वातावरणमा यसले गम्भिर असर पार्ने गरेको विगतका कामको अनुभवले बताएको जानकारी दिनुभयो ।
कार्यक्रममा केयर नेपालका राज रजकले शिक्षा विना सम्बृद्धि हासिल नहुने बताउदै कपिलवस्तुको शैक्षिक विकासमा स्थानीय सरकारले पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जिल्लाको शैक्षिक अवस्था निकै कमजोर रहेको उल्लेख गर्दै विद्यालयमा हुने दण्ड सजायका कारण पनि धेरै विद्यार्थी अझ बालिकाहरुले स्कुल छाड्ने गरेको बताउनुभयो ।
कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल कपिलवस्तुका संयोजक हरि अधिकारीले विद्यार्थीलाई सुरक्षित र भयरहित वातावरण निर्माणमा सवै निकाय गम्भिर हुनुपर्ने बताउनुभयो । उहाँले बालबालिकालाई अभिभावक तथा शिक्षकद्धारा हुने दूव्र्यवहार र गालीगलोजले उनीहरुमा मानसिक चोट पुगी समाजमा गम्भिर खालका घटना हुने गरेको प्रति सचेत रहन आग्रह गर्नुभएको छ ।
कार्यक्रममा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक लालचन्द्र पाण्डेले अनुगमनको पाटो कमजोर हुँदा विद्यालयमा शैक्षिक सुधार नभएको बताउनुभयो । कार्यक्रममा ९ विद्यालयका प्रद्यानाध्यापक तथा फोकल शिक्षक र शिक्षामा कामगर्ने संघसंस्थाका प्रतिनिधीको सहभागीता रहेको थियो ।
२६ चैत्र २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया