अराज सिंह, चन्द्रौटा ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) शिवराजले यतिबेला पार्टी सुदृढीकरण अभियानमा तिब्रता दिएको छ । “समृद्ध नेपाल र सुखी नेपाली” पार्टी नारालाई सार्थक बनाउन नेकपा शिवराज नगर कमिटीले वडास्तरीय अभियानमा जुटेको हो ।
पार्टीका नीति तथा योजनालाई हरेक जनतामाझ पु¥याउन नेकपाले वडा कमिटीको भेला तथा सपथ ग्रहणलाई अगाडि बढाएको नगर अध्यक्ष दिनेश पुनले जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५ नं. प्रदेश कमिटी सदस्य अहमद अब्दुल रउफले हरेक टोलटोल र राष्ट्रमा कम्युनिष्ट एकताको सन्देश लैजान आव्हान गर्नुभएको छ ।
नेकपा शिवराज वडा ५ को वडा भेला तथा सपथ ग्रहण कार्यक्रममा नवगठित २९ सदस्यीय वडा कमिटीलाई सपथ गराउँदै प्रदेश कमिटी सदस्य रउफले पार्टी नेता तथा कार्यकतालाई यस्तो आह्वान गर्नुभएको हो । पार्टीका नेता कार्यकर्ता बीचको असमझदारी र असन्तुष्टीलाई आपसी वार्ता, छलफल र सम्बादबाट टुङ्याउनुपर्ने नेता रउफले नेतृत्व पंक्तिलाई निर्देशन दिनुभयो । नेता रउफले विकास निर्माण र स्थानीय तहसम्म पार्टीको वर्चस्व स्थापित गर्न, जनअपेक्षित भई काम गर्न सबै नेता तथा कार्यकर्तालाई सुझाव समेत दिनुभयो ।
कार्यक्रममा प्रदेश सभासद् अर्जुनकुमार के.सी.ले बढ्दो बेरोजगारी समस्यालाई समाधान गर्न सरकारले विभिन्न स्वरोजगार नीति र कार्यक्रम ल्याउन लागेको जानकारी गराउनुभयो । प्रदेश सांसद के.सी.ले कपिलवस्तुमा बिकासले अब छिट्टै गति लिने दाबी गर्नुभयो । जिल्लाका सबै हुलाकी सडक र पुल निर्माणका लागि योजना र टेन्डर आव्हान हुने प्रकृया अन्तिम चरणमा पुगेको समेत उहाँले उद्घोष गर्नुभयोे । पार्टी सदस्यप्रति इंकित गर्दै नेकपा नेता समेत रहनुभएका के.सी.ले आ–आफ्नो वडा र टोल विकासका लागि हरेक पार्टी सदस्यले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले काम गर्दै सिक्दै र सिकाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सानातिना कमी कमजोरिलाई पार्टी कमिटीभित्रै बसेर छलफल र आपसी सम्वादबाटै समाधान गर्न सकिने नगरप्रमुख अधिकारीले बताउनुभयो । अधिकारीले ५ नम्बर वडालाई सधैं विजय किल्लाको रुपमा जोगाई राख्न पार्टी नीति, विधान र अनुशासनलाई आत्मसात गरी अघि बढ्न जिकिर गर्नुभयो ।
कार्यक्रममा नेकपा शिवराज नगर संगठन कमिटीका अध्यक्ष दिनेश पुनले पार्टीका विभिन्न पङ्तिमा आबद्ध सदस्यलाई अनुशाशित र मर्यादित भई अघि बढ्न जिकिर गर्नुभयो । पार्टी एकतालाई बजार र चोक चौराहमा फैलाइएका हल्लाको पछि नलाग्न समेत आग्रह गर्नुभयो । सबै पार्टी सदस्यले विचार र एजेन्डाका रणनैतिक योजना अनुरुप अघि बढ्न नगर अध्यक्ष पुनले आह्वान गर्नुभयो ।
नेकपा शिवराज वडा नं. ५ का अध्यक्ष शरद अधिकारीले पार्टीको नीति र एजेण्डालाई अवलम्बन गर्दै पार्टी सुदृढीकरणमा लाग्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा वडा भित्र बसोवास रहेका जिल्ला, क्षेत्र स्तरका नेकपाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी शिवराज नगर कमिटी अन्तर्गत वडा नं. ८ को वडा भेला तथा सपथ ग्रहण कार्यक्रम सकिएको प्रचार विभाग प्रमुख निशा विश्वकर्माले जानकारी दिनुभयो । यसअघि वडा नं. ४ को वडा भेला र सपथ ग्रहणको कार्यक्रम सम्पन्न भएको प्रचार विभाग प्रमुख विश्वकर्माले बताउनुभयो ।
२६ चैत्र २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया