१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

तस्करको डेरामा प्रहरीको छापा, अवैध कपडा बरामद



भैरहवा ।
रुपन्देही प्रहरीले अवैध रुपमा भन्सार छली गरी ठूलो परिमाणमा भण्डारण गरिएको कपडा बरामद गरेको छ। जिल्लाको ओमसतिया गाउँपालिका २ पडसरीस्थित एक घरबाट कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

तस्करले दिनहुँ सीमावर्ती भारतीय बजारबाट अवैध रुपमा भन्सार छली गरी पडसरीस्थित डेरामा भण्डारण गर्ने गरेका थिए।कपडा बरामदसँगै तस्कर अर्घाखाँचीका लालबहादुर केसीलाई पनि पक्राउ गरिएको र तस्करीमा प्रयोग गरिएको स्कुटी पनि नियन्त्रणमा लिइएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए। बरामद चार सय थान कपडामा लेडिज कुर्ती र सुट रहेको छ।

पक्राउ परेका तस्करलाई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

यस्तै, रोहिणी गाउँपालिका २ खुरुहुरियामा नेपाल भित्र्याउँदै गरेको २८ थान साडी पनि प्रहरीले बरामद गरेको छ।

त्यस्तै प्रहरीले भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको एक हजार आठ सय वटा ब्रोइलर कुखुरा बरामद गरेको छ। करिब एक लाख रुपैयाँ बराबरको कुखुरा लुम्बिनी सांस्कृतिक नपा ५ तेनुहावाबाट बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

भन्सार छली गरेर भित्रयाउँदै गरेको गुट्खा, प्लास्टिक, किसमिस लगायतका ५३ हजार बढी मूल्य बराबरको विभिन्न साम्रगी पनि बरामद गरेर भैरहवा भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २६ चैत्र २०७५ मंगलबार ००:००  ८ : ०३ बजे