१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बारामा फेरि आयो हावाहुरी र असिना, कहाँ के भयो ?



बारा ।
बारामा मंगलबार बिहान असिना पानीसहित हुरी आएको छ। एक साताअघि आँधीबाट प्रभावित बस्तीमा असिना, पानी र हुरी आउँदा झन् समस्या थपिएको छ। हुरीले केही स्थानमा घरका छाना उडाएको छ। केही ठाउँमा बिजुलीका पोल ढलेका छन्।
कहाँ के भयो ?
आँधीपीडित भएर त्रिपालमुनि बस्दै आएका परिवार झन् समस्यामा परेका छन्। फेटा, सुवर्ण, देवताल गाउँपालिका र महागढीमाई नगरपालिकामा आँधी पीडितको त्रिपालमा वर्षा र हुरीले क्षति पुर्‍याएको छ। खाना पकाउने बेलामा असिनासँगैको हावाहुरी र पानी परेकाले खाना पकाउन समेत समस्या भएको छ। राहत वितरणको काम पनि अवरुद्ध भएको छ। एसइई परीक्षार्थी प्रभावित हुरीले एसइईका परीक्षार्थी प्रभावित भएका छन्। असिना–पानीसहित आधा घण्टासम्म आएको हावाहुरीले बाराको उत्तरी भेगका निजगढ नगरपालिका, सिमरा उपमहानगरपालिका क्षेत्रमा बढी प्रभाव परेको छ। नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराका केन्द्राध्यक्ष शंकर आचार्यले आधा घण्टासम्म आएको असिनापानी र हुरीले विद्यार्थीहरुले लेख्नै नसकेपछि थप समय उपलब्ध गराइएको जानकारी दिए। प्रहरी पोष्टको छानो उडायो करैयामाई गाउँपालिकामा अवस्थित नेपाल प्रहरीको अस्थायी प्रहरी पोस्ट, मधुवनको छानो उडाएको छ। छानो उडाउँदा प्रहरी प्रभावित भएका छन्। यस्तै, बारामा हुरी र असिनाले गहुँ, मकै, तरकारी, केरा खेतीमा क्षति पुर्‍याएको स्थानीयले बताएका छन्। निजगढका किसानले लगाएको केरा खेती असिनाले गर्दा नोक्सान भएको छ। असिनाले केरामा दाग लाग्दा नोक्सान भएको किसान सीताराम दंगालले बताए। जितपुरसिमरा–२ स्थित रेडियो सिमराको टावरसमेत हुरीले उडाएको छ। टावर ढलेपछि एफएमको प्रशारण बन्द गरिएको रेडियोका कार्यकारी निर्देशक मनोज पौडेलले जानकारी दिए। यस्तै, कतिपय स्थानमा हुरीले रुख समेत ढालिदिएको छ। घरको छतमा राखिएका सोलार प्यानल पनि हुरीले उडाएको छ भने केही स्थानमा बिजुलीका पोल समेत ढलेका छन्। पोल ढल्दा विद्युत सेवा अवरुद्ध भएको छ। सिमरामा रहेको अल्पाइन गार्मेटमा पनि हावाहुरीले क्षति पुर्‍याएको छ। गार्मेन्टको भान्साघरको जस्ताको छानो उडाएको छ।

प्रकाशित मिति : २६ चैत्र २०७५ मंगलबार ००:००  ७ : ४४ बजे