मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुका क्रेशर उद्योग मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको छ । प्रदेश ५ बाट खटिएका सार्वजनिक लेखा समितिका सदस्यहरुले अनुगमनको क्रममा उक्त तथ्य फेला पारेका हुन् । समितिका सदस्यहरुले सोमबार वाणगंगाका दुई क्रेशर उद्योगको अनुगमन गरेका थिए ।
अनुगमनको क्रममा लुम्बिनी क्रेशर उद्योग र न्यू वाणगंगा क्रेशर उद्योगले प्रदेश ५ ले जारी गरेको नयाँ कार्यविधि अनुसार उद्योग सञ्चालन गरेको नपाइएको समितिका सदस्य गीता थापाले बताउनुभयो ।
प्रदेश सरकारले भदौ १ गते नै क्रेशर सञ्चालनका लागि नयाँ कार्यविधि निर्माण गरेर प्रत्येक स्थानीय तहलाई परिपत्र पठाएको थियो । तर, वाणगंगाका क्रेशरले उक्त कार्यविधि अनुसार काम नगरेको पाइएको थापाले बताउनुभयो ।
यस्तै क्रेशर उद्योगहरु पुराना मापदण्डमा पनि आउन सकेका छैनन् । अनुगमनका क्रममा क्रेशरमा राखिएको नदीजन्य पदार्थको डम्पिङ र उद्योग दर्ता गर्दा राखिएको पूजी संग पनि तालमेल नमिलेको पाइएको छ । यसैगरी नदीकै नजिक क्रेशर सञ्चालन हुनु, क्रेसरमा प्रयोग गरिएको पानीको उचित व्यवस्थापन नहुनुलाई पनि समितिले कमजोर भेटेको छ ।
अनुगमन टोलीमा समितिका सदस्य रेवतिरमण शर्मा, कल्पना पाण्डे, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
२६ चैत्र २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया