बुटवल ।
प्रदेश सभा ५ को सोमबारको बैठकमा रुपन्देहीका पत्रकार विन्दुकुमार चौहानकी छोरी अपहरणमा संलग्नहरूलाई कडा कारबाही गर्न माग गरिएको छ । रुपन्देहीको लुम्बिनी क्षेत्रमा रही लामो सयमदेखि पत्रकारिता गर्दै आएका चौहानको १८ वर्षीया छोरी ममता चौहानको चैत २० गते राति अपहरण भएको थियो ।
शारीरिक रूपमा अपांग रहेकी ममता राति अपहरण परेपछि २१ गते बिहान नेपाल–भारत सीमा क्षेत्रमा पल्टिएको अवस्थामा फेला परेकी थिइन् ।
चौहानले केही समययता सीमा क्षेत्रबाट हुने गोरु तस्करीको समाचार लेखेको र सोही कारण उक्त समूहले छोरीको अपहरण गरेको किटानी जाहेरी दिएपछि प्रहरीले चार जनालाई पक्राउ गरेको थियो ।
प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै सोही क्षेत्रकी सांसद सुनितादेवी ठठेरले पक्राउ परेको उक्त समूहलाई कडा कारबाही गर्न प्रदेश सभामार्फत् सरकारसँग माग गरेकी हुन् ।
उहाले समाचार लेखेकै कारण पत्रकारको अपांग अवस्थाकी छोरी अपहरण हुनु अत्यन्त निन्दनीय कार्य भएको भन्दै अपहरणमा संलग्नलाई कडा कारबाहीको माग गर्नुभयो ।
त्यस्तै, आजको बैठकमा विशेष समयमा बोल्दै सांसद बैजनाथ कलवारले स्थानीय तहमा मौलाएको भ्रष्टाचारको कारण नागरिकमा संघीयताप्रति नै नैराश्यता उत्पन्न भएको भन्दै प्रदेश सरकारले भ्रष्टाचार रोक्न पहल गर्नुपर्ने बताउनुभयो ।
बैठकमा सांसद दिपा विश्वकर्मा, रुन्धावती शर्मा, कुरमती ढेंगा र अमर बहादुर डांगीले शून्य समय लिएर समसामयिक विषयमा बोलेका थिए । अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्ने छ ।
२५ चैत्र २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया