९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

आजको मौसमः कतै बदली, कतै वर्षा, कतै हुरीबतास !



काठमाडौँ ।
केही दिनदेखि बलदी भएको मौसममा सोमबारदेखि क्रमिक सुधार आउने बताइए पनि देशको पश्चिमी भेगमा सोमबार आंशिक देखि सामान्य बदली रहने र अन्य भूभागमा आंशिक बदली रहने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो सामान्य सुधार देखिएपनि अपरान्ह वा साँझ पछि सामान्य बदली रहने सम्भावना रहेको मौसमविदले बताएका छन् । केही स्थानमा भने मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
यस्तै आज सोमबार राति देशका मध्य र पूर्वी भूभागहरुमा सामान्य देखि पूर्ण बदली तथा पश्चिमी भूभागहरुमा सामान्य बदली रहने पनि महाशाखाले जनाएको छ ।
देशको पूर्वी तथा मध्य भूभागका केही स्थानमा राति मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । पश्चिमी भूभागका एक वा दुई स्थानमा पनि मेघ गर्जनका साथ हल्का वर्षाको सम्भावना देखिएको मौसमविदले बताएका छन् ।
तराईका केही स्थानहरुमा हुरि बतास चल्ने सम्भावना रहेको छ भने हिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको महशाखाले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५ सोमबार ००:००  ३ : ३४ बजे