९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

सभामुख महरा र कतारका परराष्ट्रमन्त्री बीच शिष्टाचार भेटवार्ता



एजेन्सी ।
सभामुख कृष्णबहादुर महरा र कतारका उपप्रधान तथा परराष्ट्रमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान विन जस्सिन अल थानीबीच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका संघ (इन्टर पार्लियामेन्ट्री युनियन–आइपियू)को १४० औँ सभामा सहभागी हुन कतारमा रहेका सभामुख महराले अल थानीसँग दोहास्थित होटल सेराटनमा शिष्टाचार भेटवार्ता गरेकाहुन।
भेटका अवसरमा सभामुख महराले नेपाल–कतार सम्बन्ध कूटनीतिक मात्र नभई जनस्तरसम्म प्रगाढ रहेको बताएका थिए। उनले समुन्द्रदेखि सगरमाथासम्मको सम्बन्धलाई अझैं थप मजबुत र प्रगाढ बनाउन कतारको भूमिका निकै महत्वपूर्ण हुने बताए।
दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन संसदीय मैत्री संघ प्रभावकारी भएको चर्चा गर्दै सभामुख महराले आफूहरूले नेपाल–कतार संसदीय मैत्री संघ गठन गरिसकेको जानकारी गराएका थिए।
छोटो अवधिमै कतारले आर्थिक तथा भौतिक निर्माणका क्षेत्रमा गरेको प्रगति विश्वका लागि उदाहरणीय भएको सभामुख महराले बताए। नेपालमा विकासको थुप्रै सम्भावनाहरू रहेको भन्दै सभामुख महराले नेपालको कृषि, पर्यटन, ऊर्जा र भौतिक संरचना निर्माणमा लगानी गर्न कतारलाई आग्रह गरेका थिए। कतारमा चार लाख बढी नेपाली जनशक्ति विभिन्न क्षेत्रमा काम गरिरहेको भन्दै सभामुख महराले उनीहरूको पेशागत सुरक्षा र सेवा सुविधाका बारेमा परराष्ट्रमन्त्री अल थानीसँग चासो व्यक्त गरेका थिए।

प्रकाशित मिति : २४ चैत्र २०७५ आइतबार ००:००  ८ : ११ बजे