९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

युभेन्टस इटालियन सिरी ए फुटबलको उपाधि नजिक



एजेन्सी । 

युभेन्टस लगातार आठौँ सिजन इटालियन सिरी ए फुटबलको उपाधि नजिक पुगेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा एसी मिलानमाथि २–१ को जित दर्ता गरेको युभेन्टस लिगमा सात खेलअघि नै उपाधि नजिक पुगेको हो । दोस्रो स्थानको नापोली आइतबार राति हुने खेलमा जेनोआसँग पराजित भएमा युभेन्टस इटालियन च्याम्पियन बन्नेछ ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा युभेन्टस पहिलो हाफमा १–० ले पछि परेको थियो । तर दोस्रो हाफमा उसले पुनरागमन गरेको हो । ३९ औँ मिनेटमा सुस्तफ पियोन्तेकले गोल गर्दै एसी मिलानलाई सुरुवाति अग्रता दिलाएका थिए ।

६० औँ मिनेटमा पाएको पेनाल्टीमा पाउलो डिबालाले युभेन्टसका लागि बराबरी गोल फर्काए । थप खेलाडीका रुपमा मैदान छिरेका मोइस केनले ८४ औँ मिनेटमा गोल गरेपछि युभेन्टस २–१ ले विजयी भयो ।

चोटका कारण स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो पछिल्लो समय मैदान बाहिर छन् । पछिल्ला खेलमा युभेन्टसको जितमा १९ वर्षे किशोर खेलाडी केनले लगातार गोल गर्दै आएका छन् । जितपछि शीर्षस्थानको युभेन्टसको ३१ खेलबाट ८४ अंक भएको छ । दोस्रो स्थानको नापोलीको ६३ अंक छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५ आइतबार ००:००  २ : ५० बजे