चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
अपरिचित व्यक्तिलाई सहजै विश्वास गर्दा अनिता पौडेलले अकालमै ज्यान गुमाउनु परेको प्रहरीले निष्कर्ष निकालेको छ । गत फागुन १० गते मध्य राति पाहुना बनी आएका व्यक्तिहरुबाट बाणगंगा- ४ झुँगामा पौडेलको हत्या भएपछि प्रहरीले गरेको अनुसन्धानले सो कुरा बताएको हो ।
६ महिना अघिदेखि अपरिचत व्यक्ति घरमा आउजाऊ गरी बिभिन्न क्रियाकलाप गरिरहँदा पनि अनिताले कुनै प्रतिक्रिया जनाइनन् । सरासर उनको भरोसा गरेको देखिन्छ प्रहरी रिपोर्टमा उल्लेख गरिएको छ । अनिताको हत्यारालाई सार्वजनिक गर्ने क्रममा शुक्रबार प्रहरीले पेश गरेको रिपोर्टमा अपरिचित व्यक्तिको पुरा आड भरोसा गर्नु नै निजको निधन भएको उल्लेख गर्दै भनिएको छ–“मृतकले आफ्ना नजिकका आफन्त (माइती, नातागोता तथा साथीभाई) हरु समेतलाई उक्त व्याक्तिसंगको सम्पर्कको बारेमा कुनै जानकारी गराएको भए घटना नहुन सक्थ्यो कि ?”
प्रहरी उपरिक्षक अच्युतम पुडासैनीले हत्यारा सार्वजनिक कार्यक्रममा भन्नुभएको छ–“अभियुक्तले मृतकलाई लिएर अदालतसम्म पुगेको, श्रीमान्संग भेट गराउन तथा केश मिलाउने नाममा चन्द्रौटा पुर्याउँदासम्म पनि अनिताले पुरा आड भरोसा गरेको देखिन्छ ।” अपरिचित व्यक्तिसंग त्यति लामो समयसम्म त्यति धेरै क्रियाकलाप भइरहँदा आफन्त या परिवारसंग अनिताले केही पनि नभनेको पाइयो ।
उल्टै अरुले यसबारे अनितालाई सतर्क गराउँदा आफ्नै मान्छे हो भनेर टारेकी रहेछिन् पुडासैनीले भन्नुभयो–जुन अनिताको ठुलो कमजोरी थियो । श्रीमानले भनेकै आधारमा अनिताले ती व्यक्तिको विश्वास गर्नै हुँदैन्थ्यो । त्यसैका कारण आज उनको निधन भयो । दोश्रो विहे गरी बसेको श्रीमानबाट त्यति धेरै शंकास्पद क्रियाकलाप हुँदा पनि अनिताले पुरै विश्वास गरिन् ।
त्यहाँ पनि अनिताको कमजोरी देखिन्छ । त्यसैले प्रहरीले आगामी दिनमा अपरिचति व्यक्तिसंग सचेत रहन सबैलाई आग्रह गर्दै भनेको छ –“आफ्नो घरमा अपरिचित आएमा उसले के लगाएको छ ? उसको पृष्ठभूमि के हो ?उसले के गर्छ, किन आएको हो ? सवारीमा आएको भए कुन सवारीमा आएको छ ? त्यसको नम्बर कति हो ? सामान ल्याएको भए के ल्याएको छ ? कुन मनसायले आएको छ ? उसको कुरा गराइ शैली कस्तो छ ? इत्यादि सबैलाई नजर अन्दाज गरेर मात्र उसको भरोसा गर्नू ।
अनिता हत्या काण्डबाट सबैले यस बिषयमा नयाँ पाठ सिक्न जरुरी रहेको भन्दै आगामी दिनमा यी र यस्ता गतिविधि माथि निगरानी बढाउन र संवेदनशिल रहन जिल्ला प्रहरी कार्यालयले सबैको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया