९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

सरकारले संघीयता विरोधी कार्य गर्योः महामन्त्री कोइराला



भक्तपुर ।
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारको गतिविधि संघियताविरोधी भएको आरोप लगाएका छन । उनले प्रधानमन्त्रीमा शक्ति केन्द्रित गरेर सरकारले संघीयताविरोधी कार्य गरेको आरोप लगाएका हुन्।
नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिले नयाँ वर्ष २०७६ तथा प्रसिद्ध बिस्काः जात्राको अवसरमा नगदेशको छ्वासटोलमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा महामन्त्री डा. कोइरालाले मुलुक संघीयतामा गइसकेको अवस्थामा प्रधानमन्त्रीमा शक्ति सञ्चय गर्नु गलत भएको दाबीसमेत गरे।
उनले कांग्रेस एकतावद्ध भएर अघि बढे आगामी निर्वाचनमा मुलुकको ठूलो दल बन्ने दाबी गर्दै त्यसका लागि कांग्रेसभित्रको गुट उपगुट अन्त्य हुनुपर्नेमा जोड दिए।
सरकारको एक वर्षे कामको मुल्यांकन गर्दै महामन्त्री डा. कोइरालाले भने, ‘सरकारको एक वर्षे कार्यकालमा धन्यवाद दिने खालको एउटा पनि काम भएको छैन। सरकारले काम गर्ने ठोस योजना पनि प्रस्तुत गर्न सकेको छैन।
शान्ति सुव्यवस्था कायम हुनुको बदला मुलुकमा हत्या, हिँसा, बलात्कार, भ्रष्टाचारका घटना बृद्धि भएका छन।’ कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् केन्द्रिय अनुशासन समितिका संयोजक भिष्मराज आङ्दम्बेले सञ्चार क्षेत्र र सुरक्षा सम्बन्धमा सरकारले पेश गरेको विधेयकले सरकार एकदलिय अधिनायकवादतर्फ उन्मुख भएको स्पष्ट पारेको बताए। उनले सरकारसँग स्पष्ट र सहज बहुमत हुँदाहुँदैं दुई तिहाई बहुमत पु¥याउनुको रहस्य मुलुकलाई घेराबन्दीमा पारेर कैदखाना बनाउने प्रयत्न भएको आरोप समेत लगाए ।

प्रकाशित मिति : २३ चैत्र २०७५ शनिबार ००:००  ९ : ३२ बजे