९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

तिलोत्तमा ७ मा समानता सामुदायिक भवनको शिलन्यास



तिलोत्तमा ।
तिलोत्तमा नगरपालिकाको वडानम्वर ७ बिहुलीमा समानता सामुदायिक भवन बन्ने भएको छ ।
दलित समुदायका लागि सीप बिकास तालिम तथा प्रशिक्षण कार्यक्रम सहित अन्य आयआर्जनका कार्यक्रम गर्न सहयोग पुर्याउन नगरपालिकाले नै ३ कठ्ठा जग्गा उपलब्ध गराई सामुदायिक भवन बनाउन लागेको हो ।
सामुदायिक भवनको आज बिहान तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जागेश्वरदेबि चौधरीले संयुक्त रुपमा धार्मिक बिधि पूजक पूजा गरी शिलन्यास गर्नु भयो ।
त्यसअवरमा बोल्दै नगरप्रमुख घिमिरेले नगरपालिका भित्र बसोवास गर्ने सबै क्षेत्र, वर्ग, समुदायका जनतालाई समान अवसर दिन र पिछडिएका वर्ग समुदायको उत्थानका लागि नगरपालिकाले बिशेष प्राथमिकता दिएर कार्यक्रम र बजेटको व्यवस्था गरेको बताउनु भयो । उहाले स्थानीय , प्रदेश र संघीय सरकारले दिने सीपमूलक तालिम र अनुदान सहयोगबाट लाभ लिई अधिकतम आर्थिक उपार्जनका क्षेत्रमा लाग्न पनि दलित तथा पिछडीएका समुदायलाई आग्रह गर्नुभयो ।
नगरप्रमुख घिमिरेले तिलोत्तमामा १ सय बढी संघ सस्था क्लवहरुले भवन बनाउन जग्गा माग गरेपनि स्थानीय क्षेत्रको बिकासमा सहयोग पुर्याउने र अत्यावश्यक रहेकाहरुलाई मात्र जग्गा उपलब्ध गराएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले दलित समुदायको पहिचान स्थापित हुने गरी जग्गा उपलब्ध गराई भवन निर्माणमा सहयोग गर्ने तिलोत्तमा नगरपालिका रुपन्देहीको पहिलो नगरपालिका भएको बताउनु भयो ।
उहाले २ सय जना अट्ने सभाहल सहितको सामुदायिक भवन करिव पौने एक करोड रुपैयामा २ वर्ष भित्रमा निर्माण हुने जानकारी दिनुभयो ।
तिलोत्तमा नगरपालिका वडा नम्वर ७ का वडाअध्यक्ष दुर्गा प्रसाद पाण्डेले सामुदायिक भवन नजिकै लुम्विनी बौद्ध बिश्व बिद्यालयले एक बिगाहा जग्गामा भवन निर्माण गर्न लागेको, बिद्युतको कार्यालय स्थापना हुन लागेको र प्रहरी चौकि समेत नजिकै रहेकाले व्यवसायीक दृष्टिकोणबाट पनि भवन महत्वपुर्ण हुने बताउनु भयो ।
कार्यक्रम भवन निर्माण उपभोक्ता समितिका संयोजक जंग बहादुर बुथाप्रितिको अध्यक्षता र सचिव दीपेन्द्रराज बिश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७५ शनिबार ००:००  ८ : ०७ बजे