एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबलको सिजनको अन्मित चरण आउँदै गर्दा उपाधि होड थप रोमाञ्चक हुँदै गएको छ । उपाधिका लागि गएको वर्षको विजेता म्यानचेस्टर सिटी र लिभरपुलबिच कडा प्रतिस्पर्धा छ ।
दुवै टिम एक अर्कालाई पछि पारेर शीर्षस्थानमा कायम हुने होडमा छन् । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा जित निकाल्दै लिभरपुल पुनः शीर्षस्थानमा पुगेको छ । अवे मैदानमा भएको खेलमा लिभरपुलले साउथह्याम्पटनमाथि ३–१ को जित दर्ता गरेको हो ।
नवौँ मिनेटमा शन लङ्गले गोल गर्दै घरेलु टिमलाई सुरुवाति अग्रता दिलाए । ३६ औँ मिनेटमा नेवी केइताले लिभरपुलका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफमा लिभरपुलले थप दुई गोल गरेको हो । ८० औँ मिनेटमा मोहम्मद सालहले गोल गर्दै टिमलाई अग्रता दिलाए । पछिल्ला खेलमा गोल गर्न नसकेका सालहले गोलको खडेरी तोडे ।
सालहले उत्कृष्ट सोलो गोल गरेका हुन् । उनले यो सिजन लिगमा १८ गोल गरेका छन् । ८६ औँ मिनेटमा जोर्डन हेन्डर्सनले गोल गरेपछि लिभरपुल ३–१ ले विजयी भयो ।
जितपछि शीर्षस्थानमा फर्किएको लिभरपुलको ३३ खेलबाट ८२ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटीको ८० अंक छ ।
प्रतिक्रिया