९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै



काठमाडौँ ।
नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्दैछ । बैठकबाट पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी रहेको छ ।
केन्द्रीय कार्यालय सानेपामा दिउँसो एक बजे बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समिति र संसदीय बोर्ड गठन, केन्द्रीय विभागका संयोजक तोक्नेलगायत समसामयिक विषयमा छलफल हुने पार्टीका प्रवक्ता विश्वप्रकश शर्माले जानकारी दिएका छन् । पार्टीको नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग रहेका छन् । तेह्रौँ महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुगिसक्दा पनि केन्द्रीय विभाग हालसम्म गठन हुन सकेका छैनन् ।
केन्द्रीय सभापतिको अध्यक्षतामा पदाधिकारी स्वतः पदेन सदस्य हुने र केन्द्रीय सदस्यबाट ३१ जना चयन हुने कार्यसम्पादन समितिले केन्द्रीय समितिको एउटा बैठक र अर्काे बैठकको अन्तरमा केन्द्रीय कार्यसमितिले गर्नुपर्ने काम गर्छ । काङ्ग्रेसमा अहिले सभापति, दुई उपसभापति, दुई महामन्त्री, एक सहमहामन्त्री, एक कोषाध्यक्ष र प्रवक्ता पदाधिकारी छन् ।
काङ्ग्रेसले यसअघि पनि कार्यसम्पादन समिति गठन गरेको थियो । तर पार्टी्भित्रै विधानविपरित धेरै सङ्ख्या रहेको भनी आलोचना भएपछि विघटन भएको थियो । यसबाहेक बैठकले पार्टी विधानअन्र्तगतको नियमावली बनाउन ढिलाइ हुने देखिएपछि पार्टीको क्रियाशील सदस्यता वितरणका लागि आवेदन फारमको ढाँचा पनि स्वीकृत गर्ने, विभिन्न भ्रातृ संस्थाको विधानसमेत पारित गर्ने तयारी छ । चैत ५ गतेको केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा नियमावली संशोधन मस्यौदा समिति गठन गरेको थियो । समितिमा मीन विश्वकर्मा, जीवन परियार, इश्वरी न्यौपाने र प्रदीप पौडेल सदस्य छन् ।
काङ्ग्रेसले पार्टीको संशोधित नयाँ विधानअनुसार संविधानबमोजिम बन्ने पार्टीका संरचनामा क्रियाशील सदस्यता वितरण विस्तार गर्न अभियान नै चलाउने जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७५ शनिबार ००:००  ३ : ३४ बजे