मायादेवी अनलाइन, तौलिहवा ।
पछिल्लो समय कपिलवस्तुमा अपराधिक गतिविधिको श्रृखलामा बृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले निकालेको पछिल्लो घटना विवरणले उक्त कुराको पृष्टि गरेको छ । प्रहरीले शुक्रबार तौलिहवामा पत्रकार सम्मेलन आयोजना गरी कार्तिक देखि हाल सम्म भएका अपराधिक गतिविधिबारे जानकारी गराएको हो । जिल्लामा कार्तिक यता ६ ओटा अपराधिक घटना घटेका छन् । जसमा तीन घटनाले जिल्लाको शान्ति सुव्यवस्थामा गम्भिर प्रश्न चिह्न खडा गर्यो । गत मंसिर ८ गते साँझ शुद्धोधन गाउँपालिका वडा नं. ४ मोतिभारीका दीपेन्द्र कुमार चौधरीको हत्या भयो । राजाबाबु नामले चिनिने चौधरी जिल्लाका युवा नेता थिए भने गत प्रदेश निर्वाचनमा उम्मेद्वार बनि बनेका थिए ।
उनलाई स्थानीय अजित कुमार पाण्डेले गोली हानी हत्या गरेका हुन् । उनी तत्काल फरार भएपनि अहिले प्रहरीले नियन्त्रणमा लिई पुर्पक्षको लागि थुनामा पढाएको छ । उनी संगै रामकृष्ण पाण्डेलाई पनि थुनामा पठाइएको छ । चौधरीको हत्याको कारण रिसिईबि नै भएको प्रहरीले जनाएको छ ।
गत फाल्गुण ११ गते राती १ बजे वाणगंगाकी अनिता पौडेलको हत्या भयो । १० गते शुक्रबार पाहुना बनि आएका दुई जनाले मध्यरातमा धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए । सामान्य एक विद्यालयमा कार्यालय सहयोगीको रुपमा काम गर्ने पौडेलको हत्या पारिवारिक कारण रहन गएको प्रहरीले जनाएको छ । शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भएको अभियोगमा उनका श्रीमान विष्णु पौडेल, भिनाजु श्रीहरि गौतम र मुख्य अभियुक्त गुनाखर गौतमलाई सार्वजनिक गरेको छ । सम्पत्तिको लागि उनको हत्या भएको प्रहरीले जनाएको छ ।
यही चैत्र १७ गते कृष्णनगर नगरपालिका वडा नं. १० विद्यानगरका पारस पुरीको गोली हानी हत्या भयो । म्यानपावर व्यवसायी समेत रहेका उनी माथि रातको नौं बजे गोली प्रहार भएको थियो । उनको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रण लिई अनुसन्धान गरिरहेको छ ।
यी तीन घटनाले जिल्लामा अशान्ती बढाएको छ । यस्तै अरु घटना पारिवारिक कारणले झुण्डाएर, कुटेर, घरेलु हतियारको प्रयोग गरेर घटाएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । यी घटना मध्ये विद्यानगरका पुरी र शिवराज नगरपालिकाका त्रिवेणी यादवको हत्यामा संलग्न अभियुक्तहरुलाई खाजीकार्य तीव्र पारिए पनि अरु घटनाका अरोपित पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक अच्युतम प्रसाद पुडासैनीले बताए ।
यस्तै ६ महिनामा ८ जवरजस्तिकरणीका मुद्धा दर्ता भएको प्रहरी उपरिक्षक पुडासैनीले बताए । यी घटनाका प्रमुख आरोपित पक्राउ गरेर कानुनी दायरामा ल्याउन सफल भएको उनले जनाए ।
जिल्लामा खुल्ला सिमानाका कारण अपराधिक गतिविधि बढेको प्रहरीको दाबी छ । हत्या घटाए पश्चात अभियुक्तहरु भारत जाँदा अनुसन्धानमा समस्या हुने गरेको प्रहरी बताउँछ । ‘बढ्दो बेरोजगार, गरिबी र आर्थिक प्रलोभनमा परी अपराधिक काम गर्नेहरुमा बृद्धि हुन थालेको छ, प्रहरी उपरिक्षक पुडासैनीले भने, “यसमा समाजको सचेतना जरुरी छ ।” प्रहरीलाई विना अवरोध काम गर्न दिए जुनसुकै घटनाका अभियुक्तहरु पनि प्रकाउ गर्न सकिन्छ उनले भने ।
पछिल्लो घटनाको उदाहरण अनिता पौडेल हत्याकाण्डमा देखिएको उनको दाबी छ । पौडेलको हत्याम संलग्नलाई पक्राउ गर्न निकै ठूलो कसरत गर्नुपरेको उनले बताए । निकै योजनाबद्ध तरिकारले पौडेलको हत्या भएको प्रहरी बताउँछ । भदौ महिना देखि घटना घटाउने अभियुक्त पौडेल संग नजिकिदै गएको र फाल्गुण ११ गते मात्र हत्या गर्न सफल भएको प्रहरीले जनाएको छ । मध्यरातमा पाहुनाका रुपमा आएका दुई जना व्यक्तिले उनको घटना घटाएका हुन । जसमध्ये मुख्य अभियुक्त गुणाखर अधिकारी हुन् । उनी पक्राउ परेका छन् भने अर्का एक जना फरार छन् । अभियुक्त अधिकारीलाई हत्या गर्ने योजनाार मृतकका भिनाजु (आमाजु दाई) श्रीहरि गौतम र श्रीमान विष्णु पौडेल रहेको प्रहरीले जनाएको छ ।
२३ चैत्र २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया