बुटवल ।
प्रदेश ५ को मन्त्रिपरिषद्को बैठकले बारा र पर्सामा आएको हावाहुरीबाट प्रभावित क्षेत्रमा एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयलाई उक्त सहयोग रकम प्रदेश २ बैंक खाता जम्मा गर्न आग्रह गरेको हो ।
सरकारका प्रवक्ता मन्त्री वैजनाथ चौधरीले प्रदेश २ मा आएको विपद्लाई मध्यनजरगर्दै एक करोड रुपैयाँ सहयोग गरिएको बताए। ‘बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयलाई जतिसक्दो चाँडो सहयोग रकम बैंकमा जम्मा गर्न आग्रह गरेको छ’ उनले भने। यस्तै सोही बैठकले मन्त्रिपरिषद् बैठकले विपक्षी दलका नेता बलदेव शर्मा पोखरेललाई ५ लाख रुपैयाँ उपचार खर्च सहयोग गर्ने निर्णय गरेको छ ।
प्रदेशसभाका सबैभन्दा वृद्ध सदस्य शर्मा अहिले क्यान्सर रोग लागेर काठमाडौं नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत छन्। साथै शुक्रबारको बैठकले विभिन्न केही महत्वपूर्ण निर्णय र्गयो। बैठकमा प्रदेश ५ को आवधिक योजनाको आधारपत्र स्वीकृत भएको छ। यता बाँकेको खजुरा गाउँपालिकाको केन्द्र बागेश्वरी ३ बागमती नगरमा सार्ने निर्णयसमेत भएको प्रवक्ता चौधरीले बताए। साथै बैठकले प्रदेशसभा सदस्यहरूको १० लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गर्ने गर्ने भनिएको कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।
२२ चैत्र २०७५ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया