मायादेवी विशेष व्यूरो ।
कपिलवस्तुको बाणगंगा नपा ४ झुँगाकी अनिता पौडेलका हत्यारा प्रहरी हिरासतमा आएका छन् । करिब डेढ महिनाको खोज र अनुसन्धानपछि यही चैत्र २१ गते बिहिबार मुख्य अभियुक्तलाई पक्राऊ गरी २२ गते शुक्रबार विहान प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीका अनुसार अनिताको हत्यामा मुख्य योजनाकारको रुपमा अनिताका (आमाजु दाई) भिनाजु श्रीहरि गौतम, गुनाखर अधिकारी र श्रीमान बाबुराम पौडेल (विष्णु) रहेका छन् । उनीहरुलाई प्रहरीले हिरासतमा लिएको छ भने घटनामा संलग्न थप एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।
हत्यारा पत्ता लगाउन कसरी सफल भयो प्रहरी ?
गत फागुन ११ गते शुक्रबार रातको १ बजेको समयमा आफ्नै घरको भान्छा कोठामा २७ बर्षिय अनिता पौडेलको हत्या भएको थियो । घटनाको दृश्य देखेपछि अनिताको घरको कोठामा बस्ने व्यक्ति र स्थानीयले प्रहरीलाई खबर गरे । उक्त खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक चन्द्र बहादुर केसीको कमाण्डमा १३ जनाको टोली घटनास्थल बाणगंगा ४ झुँगामा आयो । लगत्तै प्रहरी अनिताको हत्या भएको घरको कोठामा पुग्यो । जहाँ अनिता पौडेल रक्ताम्य अवस्थामा कोठामा लडिरहेकी थिइन् । उनको दाहिने कानको पछाडी, बायाँ कानभन्दा माथि गहिरो चोट लागेको थियो । सामान र लत्ताकपडा छरपस्ट थिए । त्यही अवस्थामा प्रहरीले अनितालाई उठायो र प्रारम्भिक उपचारको लागि नजिकको कपिलवस्तु सामुदायिक अस्पत्तालमा लग्यो । तर अनिता अस्पत्ताल नपुग्दै बाटामै संसारबाट बिदा भइसकेकी थिइन ।
त्यसपछि घटनाको बिषयमा प्रहरी अनुसन्धानमा जुट्यो । यस बिषयमा धेरैले धेरै प्रकारका अड्कलबाजी गरिरहेका थिए । घटनाको बिषय कहाँ पुग्यो ? दोषी कहाँ फरार छन ? कहिलेसम्म पीडितले न्याय पाउँछन् भनेर आमजनतामा जिज्ञासा थियो । पीडित पक्षले इलाका प्रहरी कार्यालयमा धर्ना दिने काम पनि गरे । घटनाको बिषयमा प्रहरीसंग बुझ्दा ९० प्रतिशत सम्म सफल भएको बताइए पनि खास दोषी को हुन् केही जानकारी नपाउँदा मृतकका आफन्त र सर्वसाधारणले प्रहरी तर्फ नै औँला ठड्याउन थालेका थिए । प्रहरीलाई पनि मिडियादेखि लिएर चौतर्फी दबाब आउन थालेको थियो । ‘पाप धुरीबाट कराँछ’ भने झैँ अन्ततहः प्रहरीले हत्यारा पत्ता लगाएरै छोड्यो । पीडितले न्याय पाए । यसको लागि सबैले अनुसन्धानमा खट्ने प्रदेश प्रहरी, जिल्ला प्रहरी र इलाका प्रहरीलाई धन्यबाद दिनै पर्दछ । आज हामीले अनिताको मृत्यु भएपछि प्रहरीले के कस्ता संयन्त्र प्रयोग गरेर हत्यारालाई पत्ता लगाउन सफल भयो त भन्ने बारेमा विशेष रिपोर्ट प्रस्तुत गर्दै छौँ ।
प्रहरीको अप्रेसन कसरी सफल भयो ?
हत्या भएको भोलीपल्ट विहानै अनिताको शवलाई बुटवलको एक अस्पतालको शव गृहमा राखियो । यता प्रहरी उपरिक्षक अच्युतम प्रसाद पुडासैनीको कमाण्डमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोली प्रारम्भिक अनुसन्धानमा जुट्यो । घटनास्थलबाट प्रहरीले मोबाइल २ थान, खाली केकको बट्टा र रियो जुसको खाली बट्टा एक थान फेला पारेको थियो । त्यसपछि अनिताको हत्या भएको कोठलाई प्रहरीले सिल गर्यो । घटनास्थललाई सुरक्षित राखिसके पछि प्रहरीले सुरुमा आफन्त र स्थानीयलाई सोधपुछ गर्न थाल्यो । मृतकका श्रीमान् दोश्रो विवाह गरी भारतमा बसोबास गर्दै आइरहेको पनि प्रहरीले प्रारम्भिक पायो ।
घटनाको बारेमा बुझ्दै जाँदा पटकपटक अनिताको घरमा आउने गरेका बुटवल घर बताउने २ अपरिचित व्यक्ति मास्क प्रयोग गरी मोटरसाइकलमा आएर घटना घटाएका छन् । त्यसपछि प्रहरीले आफ्नो अनुसन्धान जारी राख्यो । घटनास्थलमा अभियुक्त पक्राऊ गर्ने कुनै प्रकारको सबुत नभएको, आफन्त र स्थानीयले पनि घटना प्रमाणित गर्ने कुनै आधार बताउन नसकेपछि प्रहरीलाई निकै गाह्रो भएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक पुडासैनीले जानकारी गराउनु भएको छ । त्यसपछि घटनालाई निकै संवेदनशिल तवरले लिएर प्रदेश प्रहरी, जिल्ला प्रहरी र इलाका प्रहरी अहरोरात्र अनुसन्धानमा जुट्यो । आफन्तले मृतक अनिताका श्रीमान् र उनका भिनाजुमाथि हत्याको शंका गरेका थिए । त्यसपछि प्रहरीले मृतकको मोबाइलबाट अनुसन्धान प्रकृया अगाडी बढायो । यिनै आधारमा सुरुमा प्रहरीले मृतक अनिताका श्रीमान् बाबुराम पौडेल र भिनाजु श्रीहरी गौतमसहित ५ । ६ जनालाई नियन्त्रणमा लियो ।
अनुसन्धानमा के भने श्रीमान र भिनाजुले ?
सुरुमा प्रहरीसंग तिनीहरुले केही कुरा पनि बताउन मानेनन् । निरन्तरको प्रहरी सोधपुछमा प्रहरीले मृतक अनिताको श्रीमान् बाबुराम पौडेलसंग विगत ६ बर्ष अगाडीदेखि बाबुराम पौडेल (श्रीमान्) ले आफ्नी श्रीमती अनिता पौडेललाई कुटपिट तथा झै झगडा गर्दै आएको फेला पार्यो । विगत ५ बर्षदेखि अनिता र बाबुरामबीच अंशमुद्धा चलिरहेको, सो घटना घट्नुको दुईचार दिन पहिला मात्र उक्त मुद्धाको फैसला भएको साथै श्रीमान् श्रीमतीबीच पुनः मानाचामल मुद्धा चलिरेको अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार बाबुराम पौडेल र श्रीहरी गौतम बीच सहोदर साला भिनाजु नाता पर्ने गरेको प्रहरीले अनुसन्धानबाट पत्ता लगायो ।
अनुसन्धान गर्दै जाँदा श्रीहरी गौतमसंग मृतकको ससुराले अनिताको घर निर्माणको लागि १४ लाख रुपैयाँ सापटी लगेको पनि तथ्य बाहिर आएको छ । श्रीहरी गौतमले बुटवल घर बताउने गुनाखर अधिकारीसंग पहाड घर अर्घाखाँचीमा बस्दादेखि नै चिनजान गरेको बुझिएको छ । अभियुक्त गुनाखर अधिकारी र श्रीहरी गौतम यस अगाडी पनि डाँका चोरी मुद्धामा अभियुक्त रहेको खुलेको छ । सोही क्रममा गुनाखर अधिकारी रुपन्देही कारागर तथा रामेछाप कारागारमा करिब ४ बर्ष जेल सजाँय भुक्तान गरी घर फकेका थिए । गुनाखर घर फर्किसकेपछि श्रीहरी गौतमले फोन सम्पर्क गरी भेटघाटसमेत गर्ने गरेको र गुनाखर अधिकारीलाई भेटी मेरो आफ्नै सहोदर साला बाबुराम पौडेल र अनिता पौडेलबीच अंशवण्डा मुद्धा चलिरहेको छ, त्यसमा तिमीले अनितालाई भेटी म तिमीहरुको केस मिलाई दिन्छु भनेर तिमिले निज अनिताको हत्या गर । म तिमीलाई ७ लाख रुपैयाँ र मैले ठेक्का पट्टा गर्ने ठाउँमा मासिक २५ हजार रुपैयाँको जागिर लगाइदिन्छु भनेको थियो । जवाफमा गुनाखरले – ‘म एक्लैले हत्या गर्न सक्दिन भनी बताएका थिए ।’
त्यसपछि श्रीहरी गौतमले तिमीलाई सहयोगको लागि म अर्को मान्छे पठाउँछु– तिमीले उक्त कार्य गर्नु पर्यो भनी कुरा गरेको प्रहरी अनुसन्धानले देखाएको छ । त्यसैका आधारमा गुनाखरले अनिताको हत्या गर्न सहमती जनाएका थिए । अनिताको हत्या हुनभन्दा ठिक २ दिन अगाडि श्रीहरी गौतम र गुनाखर अधिकारी बीच अर्घाखाँचीमा छलफल भएको रहेछ । त्यसपछि गौतमले मोटरसाइकल गुनाखर अधिकारीलाई दिन्छन् । त्यसपछि गुनाखर मोटरसाइकल लिएर रुपन्देहीको बुटवल फिर्ता हुन्छन् ।
अनिताको हत्या हुनुभन्दा ठिक १ दिन अगाडि फागुन ९ गते अनिताका भिनाजु श्रीहरी गौतमले गुनाखरलाई बुटवलको ट्राफिक चोकमा भेट्ने गरी बोलाए । यसै प्रसंगमा गुनाखरले आफ्नो साथमा अर्को एकजना व्यक्तिलाई लिएर गौतम कहाँ पुगे । अनि १० गते रातको समयमा अनिताको हत्या गर्ने योजना बुनेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ । त्यसको भोलीपल्ट फागुन १० गते दिउँसो गुनाखर अधिकारी र अर्को एकजना व्यक्ति भई बुटवलदेखि मृतक अनिता पौडेलको घर, वरिपरिको अवस्था र वातावरण बुझेर उनीहरु पुनः बुटवल फर्के । सोही दिन बेलुका अन्दाजी साढे ६ बजे पुनः बुटवलमा भिनाजुसंग भेट भई पूर्व योजनामुताबिक केक पसलबाट वर्थ डे ‘केक’ किनी अनिताको घर कपिलवस्तु तर्फ आएका रहेछन् । केकसंगै गौतमले नशालु पदार्थ पनि किनेको बताइएको छ ।
सोही दिन नै बाटोमा आउने क्रममा गुनाखर अधिकारीले श्रीहरी गौतमले दिएको नशालु पदार्थ पनि संगै लिएर आएका थिए । उनीहरुले बिच बाटोमा सिरिञ्ज किनी उक्त नशालु पदार्थ केक तथा फ्रुटीमा मिसाई अनिताको घरमा आएका प्रहरी अनुसन्धानले देखाएको छ । अभियुक्तहरुले अनितालाई आफ्नो जन्मदिन मनाउने भनेर झुक्याएको अनुसन्धानले देखाएको छ । पहिलदेखि नै आउजाऊ हुने भएकाले अनिताले पत्याइन पनि । त्यसपछि सबै मिलेर सो वर्थ डे ‘केक’ खाएका रहेछन ।
त्यसपछि उनीहरुले खाना पनि खाए । साथमा मृतक अनिताका २ छोराछोरी थिए । ८ बर्षिय छोरा गगन र १० बर्षिया छोरी दिव्या पौडेललाई उनीहरुले सुत्न अर्को कोठामा पठाए । त्यस लगत्तै अभियुक्तहरुले रात परिसकेको हुनाले अब घर जाने बताउँदै थिए । त्यत्तिकैमा उनीहरुले चिया खाएर मात्र घर जाने बताएपछि उनीहरुकै आग्रहमा अनिताले चिया बनाउन थालिन् । रातीमा कस्ले चिया खान्छ र ? त्यो त केवल अनितालाई झुक्काएर हत्या गने रणनिती रहेछ । नभन्दै उनीहरुले एक्कासी धारिलो हतियार (रड) पछाडीबाट प्रहार गरे । अनिता भूइमा ढलिन् । केहीछिन पछि अनिताको मृत्यु नै भयो ।
हत्या लगत्तै उनीहरु अनिताको भिनाजु श्रीहरी गौतम भएको स्थान अर्घाखाँचीमा गएको प्रहरी अनुसन्धानले देखाएको छ । दुईजनामध्ये बुटवल १० चरङ्गेमा स्थायी घर भएका गुनाखर आफ्नै घर बुटवलमा फर्के । यता प्रहरीले उनीहरुलाई शंकाको घेरामा राखेर खोज र अनुसन्धान गरेको थाहा पाएपछि गुनाखर लुकीछिपी दैलेख पुगेको अनुसन्धानले देखाएको छ । दैलेखमा साथीको घरमा आश्रय लिन पुगेका गुनाखरले त्यहाँ सातआठ दिन विताएको कपिलवस्तुका प्रहरी उपरिक्षक अच्यूत पुडासैनीले बताउनु भयो ।
त्यसपछि पनि प्रहरीले आफ्नो अनुसन्धान जारी राख्यो । गुनाखरलाई तत्काल फेला नपारे पनि प्रहरीले हत्या भएको तिनचार दिनमा भिनाजु र श्रीमानलाई भने नियन्त्राणमा लिइसकेको थियो । सुरुमा प्रहरीले पक्राऊ गरेका भिनाजु र श्रीमानले गुनाखरको बारेमा केही बताएनन् । उनीहरुकोे फोटो समेत कहिँ कतै भेटिएन । गत भदौ तिजको दर खानेदिनदेखि नै अनितासंग कुराकानी हुने गरे पनि कल हिस्ट्रि अनिताकै नाममा सिम निकालिएको । अनिता र अनिताका श्रीमान् भन्दा अरु कोहीसंग पनि कुराकानी गरेको कल रेकर्ड नभेटिए पछि प्रहरी तनावमा परेको जनाइएको छ । तर पनि प्रहरीले हरेश खाएन ।
सत्यतथ्य पत्ता लगाउन मृतक अनिताका छोराछोरी र आफन्तलाई साथमा लिएर प्रहरीले निरन्तर अनुसन्धान जारी राख्यो । घटनास्थलमा पनि कुनै सबुत नभए पछि प्रहरीले छायाँ चित्रकारिता (फोटो स्केच) विधि प्रयोग गरेर थप अनुसन्धान अगाडी बढायो । मृतकका आफन्तले पनि साथ दिए । टेक्निकल टुल्सको सहायता, निरन्तर अनुसन्धान र खोज गर्दै गर्दा प्रहरीले अन्ततः यही चैत्र २१ गते भारतबाट मुख्य अभियुक्त मानिने गुनाखर अधिकारीलाई प्रहरी हिरासतमा ल्यायो । त्यसको अर्को दिन चैत्र २२ गते शुक्रबार विहान ९ बजे प्रहरीले पत्रकार सम्मेलनमार्फत तिनै जनालाई नियन्त्रणमा ल्याएर कानुनी प्रकृयाको लागि पठाउँदै छ भने घटनामा संलग्न अरु एक जना पक्राऊ पर्न बाँकी छन् । सो अभियुक्त पनि छिटै पक्राऊ पर्ने प्रहरीले जनाएको छ । अहिले हत्यामा संलग्न श्रीमान् विष्णु, भिनाजु श्रीहरी र गुनाखर प्रहरी खोरमा छन् । प्रहरीका अनुसार उनीहरुलाई कानुनी कारबाहीको लागि अदालत पठाइने छ । अदालतले दोषी ठहराएमा उनीहरुले हदैसम्मको कारबाही भोग्ने छन् । यता पीडितहरुले भने ढिलै भए पनि आफूहरुले न्याए पाएको बताएका छन् । आफूहरुलाई न्याय दिलाउन प्रहरी र मिडियाको ठुलो हात भएको भन्दै उनीहरुले अभियुक्तहरुमाथि जन्म कैदको सजाय हुनुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया