मायादेवी अनलाइन, तौलिहवा ।
हत्या भएको डेढ महिना पछि अनिता पौडेलको हत्यामा संलग्नहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको गहिरो अनुसन्धानले हत्यामा संलग्नहरु पक्राउ पर्न सफल भएका हुन् । हत्या किन गरियो ? कसरी गरियो ? कस्ले गर्यो भन्ने बारे आम सर्वसाधारणमा कौतुहलता नै छ । यद्यपि पौडेलको हत्या उनकै परिवारबाट भएको खुल्न आएको छ । हुन त अनिताका परिवार र छरछिमेकले उनको हत्या उनकै घर परिवारबाट भएको बताउँदै आएका थिए । हत्याको विरोधमा हत्याको पर्सीपल्ट भएको विरोधसभामा मायादेवी टिभी संग अन्तर्रवार्ता दिदै स्थानीयबासीले उनको हत्यामा संलग्नहरुको नाम किटान सहित बताएका थिए ।
विशेष गरी छिमेकीले उनको हत्या उनका श्रीमान र (घर पक्षका आमाजु दाई) भिनाजुले नै हो भन्ने दाबी धेरैजसोको थियो । हुन पनि उनको हत्यामा संलग्नहरु यी दुई जना नै रहेको प्रमाण फेला परेको छ । पौडेलको हत्यामा उनका श्रीमान विष्णु पौडेल र भिनाजुु श्रीहरि गौतमनै संलग्न भएको प्रहरी अनुसन्धानले पत्ता लगाएको छ । उनीहरु दुवैले पौडेलको हत्या गर्ने योजना बनाएका हुन् । तर, उनीहरु स्वय्मले उनको हत्या गरेका भने होइनन् । उनीहरु योजनाकार मात्र थिए । उनको हत्या बुटवलका गुनाखर अधिकारीले गरेका हुन् । अधिकारीलाई अनिताको हत्या गर्न ७ लाख रकम डिल भएको अनुसन्धानले देखाएको छ । उनको हत्या गरे ७ लाख रकम दिने भिनाजु श्रीहरिले आफु समक्ष प्रस्ताव गरेको मुख्य अभियुक्त अधिकारीले प्रहरी समक्ष बताएका छन् । यति मात्र होइन श्रीहरिले अभियुक्तलाई आफुले मासिक २५ हजारको जागिर दिने पनि प्रलोभन दिएका थिए । श्रीहरि पेशाले ठेकेदार थिए । सोही ठेक्कापट्टाबाट मासिक २५ हजार उपलब्ध गराउने उनले प्रलोभन दिएका थिए । यी दुवै विषयमा अधिकारी र गौतम बीच सहमती भएको बताइएको छ ।
७ लाखको कारण उनको हत्या गर्न अधिकारी संलग्न भएका हुन् । अधिकारीले अनिताको हत्यामा अर्का एक जना सहयोगीको प्रयोग गरेको पाइएको छ । प्रहरीले ती व्यक्तिको पहिचान गरेपनि उनी फरार छन् । तर, घटनामा संलग्न भएका मुख्य अभियुक्त भने अधिकारी नै हुन् । जसले पौडेलको हत्या गत भदौ महिना देखि गराउँदै आएका थिए ।
सुरुमा अभियुक्त अधिकारी अनिता संग नजिक हुन्छन् । घरायसी विवाद मिलाउने भनेर उनी पौडेल संग नजिकिएका हुन् । यसको योजना अनिताका भिनाजु र श्रीमानले बनाइदिएका हुन् । श्रीमानले पठाएर विवाद मिलाउन आएको कुरा अभियुक्त अधिकारीले अनितालाई भनेका थिए ।
अभियुक्त अधिकारीले अनितालाई यस विषयमा विष्णुसंग कुरा गराउँछन । श्रीमान संगको कुरा पछि अनिता अधिकारीलाई विश्वास गर्छिन । यी सब कुरा अनिताले गुपचुप राख्छिन् । तर, उनले यसबारे सबै कुरा आफ्नो माइती पक्षकी फुपुलाई भनेकी भने थिइन् । एक दिन अनिताकी फुपु, अभियुक्त अधिकारी र अनिता स्वयम् अदालत सम्म पुगेका थिए ।
अदालतको नाटक रचेर अन्तिममा उनको हत्याको योजना बन्छ । घरको सम्पत्ति अनिताले प्रयोग गरि भन्ने रिसले श्रीमान र उनका भिनाजुले हत्या सम्मको योजना बुनेका हुन् । अनिताको हत्या गरे ७ लाख दिने भने पनि अभियुक्तले ५० हजार मात्र रकम पाएको प्रहरी समक्ष बताएका छन् । ७ लाखमा डिल भएपनि विष्णु र श्रीहरिले पैसा पुरा नदिएको उनले बताएका हुन् । घटनामा संलग्न भएको आशंकामा उनीहरु तत्कालै प्रहरी नियन्त्रणमा आएका थिए । यस घटनाबारे प्रहरीको सफलताको कथा हामी अर्को समाचारमा प्रकाशित गर्नेछौं प्रतिक्षा गर्नुहोला ।
प्रतिक्रिया