मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु वाणगंगाकी अनिता पौडेलको हत्यामा उनका श्रीमान सहित तीन जना संलग्न रहेको पाइएको छ । गत फाल्गुण १० गते मध्य रातमा पौडेलको घरमै हत्या भएको थियो । उक्त हत्यामा उनका श्रीमान विष्णु पौडेल (विष्णु), भिनाजु श्रीहरि गौतम र गुनाखर अधिकारी संलग्न रहेको पाइएको छ । एक जना भने फरार छन् । हत्याका मुख्य योजनाकार रहेका अधिकारी अनिताका आफन्त होइनन् । उनी श्रीहरि गौतमले हत्या गर्न पठाएका व्यक्ति हुन् ।
शुक्रबार विहान जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा पत्रकार सम्मेलन आयोजना गरि हत्यामा संलग्नलाई सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक अच्युतम पुडासैनीले हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ गरिएको जानकारी दिनुभयो । लामो समयको गहिरो खोज अनुसन्धानबाट मुख्य अभियुक्त पक्राउ गर्न सफल भएको उहाँले जानकारी दिनुभयो ।
पौडेल हत्याको प्रमुख कारण पारिवारिक रिसिईबी देखिएको छ । घरायसी विवादकै कारण पौडेलको हत्या भएको प्रहरीको भनाई छ । अनिताका श्रीमानले दोस्रो श्रीमती विहे गरि भारतमा बसोबास गर्दै आएका छन् । अनिता र श्रीमान विष्णु बीच लामो विवाद देखिन्छ । विष्णुले अनितालाई हेला गरेर घरबाट भगाउन खोज्थे । अनिता घरमै बसेर जीवनयापन गर्न चाहन्थिन । दुई छोराछोरी रहेका अनिता घरमै बस्ने निधो गरेपछि विष्णुले उनलाई जसरी पनि घरबाट निकाल्न चाहन्थे । अनिता विष्णुकै घरमा बसेपछि विष्णुलाई सम्पत्तिको माया पलाउछँ । सम्पत्ती कब्जा गरेर अनिता बसेको भन्दै विष्णु इतरका व्यक्तिलाई मन पर्दैन । यो कुरा विष्णुले आफ्ना भिनाजु श्रीहरि गौतमलाई भन्छन् ।
श्रीहरि पटक पटक विभिन्न मुद्धामा जेल गएका व्यक्ति हुन् । उनी सामान्य ठेक्कापट्टा गरेर जीविकोपालन गर्दै आएको खुल्न आएको छ । सामाजिक अपराधिक गतिविधिमा संलग्न हुँदै आएका श्रीहरिले विभिन्न माध्यमबाट बुटबल १० चरंगीका गुनाखर अधिकारीलाई भेट्न पुग्छन् । अधिकारी पनि यसभन्दा अगाडी चार बर्ष जेल सजाय काटेका व्यक्ति हुन् । अधिकारी चोरी, डकैटी मुद्धामा बुटवल र रामेछाप कारगारमा सजाय भोगेका व्यक्ति थिए । दुवै जना श्रीहरि र अधिकारी उस्तै उस्तै प्रकृतीका व्यक्ति भएपनि यसभन्दा अगाडी चिनजान थिएन ।
श्रीहरिले गुनाखरलाई अनिता र विष्णु बीचको सम्बन्धबारे सबै कुरा बताउँछन । अनिता संगको विवाद जसरी भएपनि सल्टाए रु. ७ लाख रुपैया दिने बचन दिन्छन् । त्यसपछि गुनाखरले अनिता संगको विवाद समाधानका लागि आफ्ना कामहरु अगाडि बढाउँछन् ।
विवाद मिलाउकै लागि गुनाखरले गत भदौ देखि अनिता संगको चिनजान तीव्र बनाउने गरेको अनुसन्धानले बताउँछ । विभिन्न प्रयास गर्दा पनि अनिता संगको विवाद मिल्न नसके पछि उनको हत्या योजना बन्छ । त्यसपछि अनिताको हत्या गर्न तर्फ उनीहरु लागेको प्रहरी अनुसन्धानले देखाएकोछ ।
कपिलवस्तु प्रहरीले हत्यामा संलग्न भएको आरोपमा विष्णु र श्रीहरिलाई पहिला नै नियन्त्रणमा ल्याई अनुसन्धान गरेको थियो । अनुसन्धानमा प्रहरी उपरिक्षक सहित जिल्लाका प्रहरी नायव उपरिक्षक, प्रहरी निरिक्षक खटिएका थिए । विभिन्न खोज र अनुसन्धानबाट मुख्य अभियुक्त अधिकारीलाई २१ गते नै प्रहरीले पक्राउ गर्न सफल भएको हो । शुक्रबार २२ गते मात्र यसको बारेमा पत्रकार सम्मेलन मार्फत प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ परेका तिनै जना हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । उनीहरुलाई अब कानुनी कार्रबाहीको प्रक्रिया अगाडी बढ्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया