२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

सरकारी चिकित्सकले आजदेखि देशभरका अस्पतालमा सेवा ठप्प पार्ने



काठमाडौं ।
कर्मचारी समायोजनका विषयमा असहमति जनाउँदै सरकारी चिकित्सकले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिबद्धता र सरकारले गरेको सहमतिविपरीत कर्मचारी समायोजनको सूची प्रकाशित भएपछि सरकारी चिकित्सक संघ (गोदान)ले शुक्रबारदेखि सेवा बहिस्कार गर्ने निर्णय गरेको महासचिव डा. रविन खड्काले जानकारी दिए ।
गोदानले बुधबार डाकेको आकस्मिक बैठकले समायोजनको विरोध गर्दै आकस्मिकबाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको थियो। संघले गरेको यो आन्दोलनमा नेपाल चिकित्सक संघले पनि समर्थन जनाएको छ । संघले बारा पर्साको हावाहुरी प्रभावित क्षेत्रमा भने सेवा पूर्ववत् रूपमा प्रदान गर्ने विज्ञप्तीमार्फत् जानकारी दिएको छ । संघले डाक्टरको दरबन्दी संघअन्तर्गत राख्दै आवश्यकताअनुसार प्रदेश र स्थानीय तहमा खटाउन लगायतका माग राख्दै आएको छ ।
माग पूरा नगरे सबै डाक्टरले सामूहिक राजीनामा दिने चेतावनी समेत दिएका छन्। समायोजनका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालहरु नै चिकित्सकविहीन हुने अवस्था आएका कारण पनि निर्णय सच्याउनु पर्ने माग आफूहरूको रहेको गोदानका महासचिव डा. खड्काले जानकारी दिए । ती प्रदेशहरुमा स्थानीय डाक्टरहरूको संख्या कम भएको र समायोजनका कारण सबै चिकित्सकहरू घरपायक क्षेत्रमा जाने अवस्था रहेको डा. खड्काले बताए ।

प्रकाशित मिति : २२ चैत्र २०७५ शुक्रबार ००:००  ३ : ४१ बजे