९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सामुदायिक विद्यालयको नतिजा प्रति नगर प्रमुख श्रेष्ठ गम्भिर



मायादेवी अनलाइन, बुद्धभूमि । 

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले सामुदायिक विद्यालयको पढाईलाई गुणस्तरीय बनाउँनका लागि दीर्घकालिन योजना बनाउने भएको छ । शिक्षा क्षेत्रको विकास बिना अन्य विकासको अर्थ नहुने भन्दै नगरपालिकाले सामुदायिक विद्यालयको स्तरलाई गुणस्तरीय बनाउन लागेको हो । अहिले सम्म विभिन्न कारणले पढाईको स्तर सोचेजस्तो नभए पनि अब देखि दीर्घकालिन योजना बनाएर काम गर्नुपर्नेमा नगर प्रमुख केशव कुमार श्रेष्ठले जोड दिनुभएको छ ।

संविधानले आधारभूत तह सम्मको शिक्षाको रेखदेख गर्ने अधिकार स्थानीय सरकारलाई दिएको अवस्थामा पुरानै पाराले शिक्षा क्षेत्रमा परिवर्तन नआएको लक्षण देखिएकाले बुद्धभूमिले विशेष योजना बनाएर काम गर्ने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

यो शैक्षिकसत्रको अन्तिम समयमा राखिएको नगरपालिका स्तरीय प्रधानाध्यापक बैठकलाई विहीबार गोरुसिंगेमा सम्बोधन गर्दै उहाँले यस बर्ष पनि सामुदायिक विद्यालयको नतिजा सोचेजस्तो आउन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । भर्खरै सकिएका कक्षा ५ र कक्षा ८ को नतिजालाई नजिकबाट नियाल्नुभएका उहाँले यो नतिजाले आफुलाई लज्जित बनाएको बताउनुभयो ।

शिक्षकले बर्षभरी पढाए पनि नतिजा बालुवामा पानी खन्याय सरी आएको भन्दै अगामी दिनमा पनि यस्तो नतिजा आए सबैभन्दा दुर्भाग्य हुने बताउनुभयो । अब नगरपालिकामा शिक्षाको गुणस्तर सुधानका लागि विशेष योजना बनाइने उहाँले बैठकमा बताउनुभयो ।

नगरका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले समयानुकुल शिक्षण सिकाईमा केन्द्रित हुन शिक्षकलाई आग्रह गर्नुभयो । शिक्षामा हरेक दिन नयाँ नयाँ कुरा आईरहने भन्दै उहि पुरानै तरिकाको पठनपाठनले सामुदायिक विद्यालयको शिक्षा नसुध्रिने तर्क गर्नुभयो । सामुदायिक विद्यालयको पढाई सोचेजस्तो नहुनुमा थुप्रै कारण भएपनि शिक्षकनै त्यसका प्रमुख जिम्मेवार व्यक्ति भएको बताउनुभयो । यो बर्ष पनि नगरको शिक्षामा खासो राम्रो उपलब्धी नदेखिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत पाध्याले अब विशेष योजना बनाएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

बुद्धभूमि नगरपालिकाका शिक्षा शाखा प्रमुख लिल बहादुर राउतले नगरको शिक्षा सुधारमा आफु सक्दो प्रयास गर्ने बताउनुभयो । नगरपालिकामा पहिलो पटक हाजिरी हुन आउनुभएका राउतले शिक्षा क्षेत्रको सुधार अभियानमा आफुलाई सघाउन आग्रह गर्नुभयो । सबैको साथ विना कुनै काम गर्न नसकिने भन्दै आफुले सबैको साथ खोजेको बताउनुभयो ।

स्रोत व्यक्ति खेमराज पौडेलको सञ्चालनमा भएको बैठकमा नगरपालिकाका सामाजिक विकास अधिकृत हिमलाल विश्वकर्मा, सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिती रहेको थियो । बैठकमा नयाँ शैक्षिकसत्रमा भर्ना अभियान कसरी सफल पार्ने र शिक्षको सुधार कसरी गर्ने भन्ने बारेमा वृहत छलफल भएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७५ बिहिबार ००:००  १ : ४४ बजे