एजेन्सी ।
म्यानचेस्टर सिटी फेरि इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । लिग अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले कार्डिफ सिटीलाई २–० ले हराउँदै पुनः शीर्षस्थानमा पुगेको हो ।
म्यानचेस्टर सिटीको जितमा केविन डी ब्राउन र लिरोय सानोले गोल गरे । दुवै गोल पहिलो हाफमै भएका हुन् । छैटौँ मिनेटमा नै डी ब्राउनले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । ४४ औँ मिनेटमा सानेले गोल गर्दै अग्रता दोब्बर पारे ।
दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र म्यानचेस्टर सिटी २–० ले विजयी भयो । जितपछि लिभरपुललाई पछि पार्दै शीर्षस्थानमा पुगेको म्यानचेस्टर सिटीको ३२ खेलबाट ८० अंक भएको छ । दोस्रो स्थानमा झरेको लिभरपुलको एक अंक कम अर्थात ७९ अंक छ ।
रेलिगेशन जोनमा रहेको कार्डिफको २८ अंक छ । लिगका ६ खेल बाँकी हुँदा उपाधि होडमा म्यानचेस्टर सिटी र लिभरपुलबिच कडा प्रतिस्पर्धा छ ।
प्रतिक्रिया