एजेन्सी ।
जिनेदिन जिदान क्लबको प्रशिक्षण सम्हाल्न पुनः आएपछिको पहिलो हार बेहोरेको छ रियल मड्रिडले । स्पेनिस ला लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिड भ्यालेन्सियासँग २–१ ले परााजित भएको हो ।
अवे मैदानमा भएको खेलमा इन्जुरी समयमा करिम बेन्जिमाले रियल मड्रिडका लागि एक गोल फर्काए पनि हार टार्न सकेनन् । भ्यालेन्सियाका लागि ३५ औँ मिनेटमा गान्कालो गुएडेस र ८३ औँ मिनेटमा एजेक्वेएल गारायले गोल गरे ।
रियल मड्रिडका लागि इन्जुरी समयको तेस्रो मिनेटमा बेन्जिमाले गोल गरेका हुन् । तर त्यो गोल हार टार्नका लागि पर्याप्त भएन ।
हारपछि तेस्रो स्थानको रियल मड्रिडले दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँगको अंक दूरी कम गर्ने मौका गुमायो । रियल मड्रिडको ५७ तथा एथ्लेटिकोको ६२ अंक छ । जित निकालेको भ्यालेसिन्या ४६ अंकसहित पाँचौँ स्थानमा पुगेको छ ।
ला लिगा अन्तर्गत बुधबार राति नै भएका अरु खेलमा एथ्लेटिको बिल्बाओले लेभान्टेलाई ३–२ तथा एइबरले रायो भालेकानोलाई २–१ ले हरायो । हुएस्का र सेल्टा डी भिगोले ३–३ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
प्रतिक्रिया