९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेपाल शिक्षक संघ वाणगंगाको भेला बस्यो



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ कपिलवस्तु विभिन्न स्थानीय तहको भेलामा जुटेको छ । संघको केन्द्रिय समितिको निर्णय अनुसार जिल्लाका स्थानीय तहमा भेला आयोजना गरिएको हो । देश संघीय संरचनामा गएपछि नेपाल शिक्षक संघ पनि संघीय सरंचना अनुसार समिति निर्माण गरी संघलाई गतिशिल बनाउन भन्दै बुधबार संघले वाणगंगा नगरपालिका स्तरीय प्रथम नगर प्रतिनिधिसभा सम्पन्न गरेको छ ।
वाणगंगाको ठाकुरापुरमा आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभाका समानुपातिक सांसद अतहर कमालले अब शिक्षक संघ पनि मूलुकको संघीय संरचना अनुसार परिचालित हुनुपर्ने बताउनुभयो । समाजको अभिन्न अंगका रुपमा रहेको शिक्षक संघले पेशागत हकहितका लागि काम गर्नुपर्ने भन्दै पार्टी र संघको सम्बन्ध सधैँ नङ र मासुको जस्तै हुनुपर्ने आवश्यकता औँल्याउनु भयो ।
शिक्षकहरुको सक्रिय सहभागिताबिना मुलुकको विकास हुन नसक्ने भन्दै कमालले शिक्षकहरु विद्र्थीहरुको विकासमा चिन्तनशिल भएर लागे मात्र त्यसले देश बन्ने बताउनु भयो ।
संघका नगर सभापति कुलराज पौडेलको सभापतित्वमा भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधिद्धय टेक बहादुर शाही, छविलाल नेपाली, नेपाल शिक्षक संघका प्रदेश ५ अध्यक्ष अर्जुन योगी, शिक्षक संघका जिल्लाअध्यक्ष अथाक अहमद खाँ, सल्लाहकार नन्दकिशोर शुक्ला, समाजसेवी रविराज आचार्य लगायतले बोल्दै संघलाई थप गतिशिल बनाउनुपर्ने आवश्यता रहेकोमा जोड दिनु भयो ।
बाणगंगा नगरसमिति सचिव रामप्रसाद भण्डारीको स्वागतमा सम्पन्न कार्यक्रमको संचालन नगर सह सचिव ज्ञान प्रसाद पाण्डेले गर्नुभएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७५ बिहिबार ००:००  २ : ०२ बजे