अराज सिंह, विजयनगर ।
नेपाली कांग्रेशका सभापति शेर बहादुर देउवा वर्तमान सरकार प्रति कडा रुपमा प्रस्तुत हुनुभएको छ । मंगलबार कपिलवस्तुको विजयनगर गाउँपालिकामा भएको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अनाहकमा सरकारले आफ्नो दलका कार्यकर्ताको घरमा खानतलासी गरेर पक्राउ गर्ने काम गरेको भन्दै आक्रोश पोख्नु भयो ।
केही समय अगाडी विप्लवको गढ मानिएको शिवगढीमा विप्लव कार्यकर्ता समात्ने नाममा आफ्ना नेता कार्यकर्तामाथि ज्यादती गरेको भन्दै केपी सरकारलाई खबरदार रहन उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– “शिवगढीमा दुख दिएको भनिएको विप्लवलाई शान्ति सम्झौतामा ल्याउन नसकेर नेपाली कांग्रेशका कार्यकर्तालाई समात्नु वर्तमान सरकारको लाचारीपन हो ।” यसले मुलुकमा शान्ति कायम हुन सक्दैन ।
विप्लवविरुद्ध सरकारले पछिल्लो समय दिएका वक्तव्यले मुलुकमा झन द्धन्द्ध निम्तने भएकाले वाम सरकारलाई सच्चिन उहाँको सुझाव छ । केपी ओली सरकारले विप्लवलाई शान्ति सम्झौतामा ल्याउन सरकारले रचनात्मक भूमिका खेल्न नसकेको आरोप लगाउनुभयो । देउवाले जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेकोमा दुख व्यक्त गर्नु भएको छ ।
उहाँले भन्नुभयो– “मुलुकमा दुई तिहाइको सरकार बनेपछि जनताले धेरै आशा गरेका थिए । हामीले पनि धेरै आशा गरेका थियौँ । तर सरकारले पटक्कै काम गर्न सकेन । सरकार केवल ठुलाठुला कुरा मात्र गरिरहेको छ ।” कार्यक्रममा केन्द्रिय सदस्य प्रकाश शरण महत, भीष्मराज आङ्दावे, चन्द्र भण्डारी लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा बिभिन्न पार्टी र स्वतन्त्र गरी ६ हजार ४ सय बढी व्यक्तिहरु नेपाली काग्रेशमा प्रवेश गरेका छन् । नेकपा, मधेशवादी दल लगायतले जनताको आशा अनुसार काम गर्न असफल भएको भन्दै उनीहरु नेपाली कांग्रेशमा प्रवेश गरेको बताइएको छ । पार्टी जिल्ला सभापति सुरेन्द्रराज आचार्यको सभापतित्व र युवा नेता चन्द्रकान्त पोख्रेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
१९ चैत्र २०७५ मंगलबार ००:००
14
Shares
प्रतिक्रिया