९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सहरी विकास मन्त्री इस्तियाक कपिलवस्तु आउँदै



थानेश्वर अधिकारी, वाणगंगा ।
कपिलवस्तुको मायादेवी गाउँपालिका पकडीलाई यही चैत २२ गते एक भव्य समारोहका बीच खुला दिसा मुक्त क्षेत्र घोषणा गरिने भएको छ । सो कार्यक्रमको उद्घाटन शहरी विकास मन्त्री इस्तियाक राइद्धारा गरिने भएको छ ।
मायादेवी गाउँपालिका र पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई कार्यकक्रम दोस्रो चरण पकडी, कपिलवस्तुको सहयोगमा संचालित खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रम अन्र्तगत मायादेवी गाउँपालिका खुला दिसा मुक्त क्षेत्र घोषणा हुन लागेको हो । मायादेवी गाउँपालिकामा रहेका कुल ८ वटा वडा मध्ये ७ वटा वडा अभिराव, फुलिका, पिपरा, बलुहवा, डुमरा, हरनामपुर र बिजुवा यस अघि नै खुला दिसा मुक्त क्षेत्र घोषणा भैसकेका छन् ।
बाँकी रहेको मायादेवी गाउँपालिका वडा नं. १ पकडी सहित सम्पुर्ण गाउँपालिकालाई खुला दिसा मुक्त क्षेत्र घोषणा गर्न लागिएको हो । करिब १ हजार १ सय घरधुरी रहेको वडा नं. १ का प्रायः सबै घरमा शौचालय निर्माण कार्य सम्पन्न भएको वडा नं. १ का वडाध्यक्ष हरिगोविन्द चौधरीले जानकारी दिनुभएको छ । जिल्ला स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले अनुगमन गरी घोषणाका लागि सिफारिस गरे सँगै सो गाउँपालिकालाई खुला दिसा मुक्त क्षेत्र घोषणा गर्न लागिएको हो ।
सो कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मीको संयोजकत्वमा ५१ सदस्यिय घोषणा मुल आयोजक समिति गठन गरिएको छ भने ८ वटा उपसमिति गठन गरिएको छ ।
कपिलवस्तु जिल्लाका १० वटा स्थानीय तह मध्ये ३ वटा स्थानीय तह बाणगंगा नगरपालिका, बुद्धभूमि नगरपालिका र विजयनगर गाउँपालिका यस अघि नै खुला दिसा मुक्त क्षेत्र घोषणा भै सकेका छन् भने मायादेवी गाउँपालिका चौथो स्थानमा पर्ने भएको छ । सो अवसरमा सरसफाई अभियानमा लाग्ने अभियानकर्मीहरुलाई सम्मान समेत गरिने भएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५ मंगलबार ००:००  ३ : ३७ बजे