९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

खुल्ला सीमाका कारण अपराध मौलाउँदै, हत्या गर्दै भारत भाग्दै !



दिपक अनुरागी, वाणगंगा ।
आइतबार राती कपिलवस्तुमा गोली प्रहारबाट एक व्यक्तिको हत्या गरिएको छ । जिल्लाको पश्चिमी क्षेत्र कृष्णनगर नगरपालिका वडा नं. १० विद्यानगरका ४५ बर्षिय पारस पुरीको गोली हानी हत्या गरिएको हो । मोटरसाइकलमा आएका दुई जना हतियारधारीले घरमै बसिरहेको अवस्थामा अन्धाधुन्ध गोली प्रहार गरी उनको हत्या गरेको पारिवारिक स्रोतले जनाएको छ । घटना राती झण्डै साढे ९ बजे तिरको हो । गोली प्रहारबाट सक्त घाइते पुरीको उपचारको लागि तत्कालै शिवराज अस्पताल बहादुरगञ्ज ल्याइएको थियो । यहाँ उपचार सम्भव नभए पछि उनलाई बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ । बुटवल अस्पतालमा उपचार गर्दा गर्दा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
पुरी म्यानपावर व्यवसायी थिए । भारतीय सिमा संग नजिकै रहेको विद्यानगरमा उनी स्थायी बसोबास गर्दै आएका थिए । उनको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा ल्याएको जनाएको छ । रिसिइबीको कारण उनको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । पुरी म्यानपावर व्यवसायी भएकोले कसैले रिसिईबी साधेँको हुन सक्ने अनुमान गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक अच्युतम पुडासैनीले हत्याबारे सुक्ष्म ढंगले अनुसन्धान थालिएको जानकारी दिए । हत्याको आंशकामा तीन जनालाई नियन्त्रणमा ल्याएका छौं प्रहरी उपरिक्षक पुडासैनीले भने, “पुरीको हत्या कस्ले र किन ग¥यो हामी तत्काल दोषि पक्राउ गछौं ।” पुरीको छातीका दुई स्थानमा गोली लागेको थियो । उनको हत्या गोलीबाटै भएपनि कुन पेस्तोलको प्रयोग भएको थियो प्रहरीले खुलाएको छैन् ।
जिल्लामा पछिल्लो समय हत्याका घटनामा दिनहुँ बृद्धि हुँदै जान थालेको छ । गत फाल्गुण १० गते मात्र वाणगंगा ४ कुवेरापुरमा अनिता पौडेलको अज्ञात समूहले हत्या गरेको थियो । पौडेलको हत्या भएको डेढ महिना वितिसक्दा पनि हत्यारा अझै सार्वजनिक हुन सकेको छैन । उनको हत्यामा संलग्न भएको आशंकामा उनका श्रीमान सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता मंसिर ७ गते राती युवा नेता दीपेन्द्रकु्मार चौधरी ‘राजाबाबु’ को हत्या भयो । शुद्धोधन गाउँपालिका ४ मोतीभारीमा उनको हत्या भएको हो । उनको हत्या सोही ठाउँका अनित पाण्डेयले गरेका हुन् । उनी अहिले भारत फरार छन् । अभियुक्त भारत फरार भएपनि उनी अहिले सम्म पक्राउ पर्न सकेका छैनन् ।
खुल्ला सिमानाका कारण हत्या पश्चात अभियुक्त भारत फरार हुँदा दोषिलाई तत्काल पक्राउ गर्न समस्या हुने गरेको प्रहरीको भनाई छ । राजाबाबुको हत्यामा संलग्नको पहिचान भएपनि भारत फरार हुँदा समात्न सकिएको छैन । अनिता पौडेलको हत्यामा संलग्न पनि भारतमै रहेको हुन सक्ने प्रहरीको आशंका छ । पौडेलको हत्या परिवारबाटै भएको माइती पक्षको आरोप छ । उनको हत्यामा आफन्तकै भूमिका रहेपनि सुटरको प्रयोग गरी हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ । उनको उनको हत्यामा संलग्नको खोजीमा प्रहरी छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक पुडासैनीले खुला सिमानाका कारण जिल्लामा अपराध बढेको बताउँछन् । सिमानाको चोकजाचमा कडाई गरेपनि तस्करहरुले लुकिछिपि अपराधिक साधनहरु खुलेयाम नेपाल भित्राउने गरेका हुन् । जिल्लामा दर्जन बढी सिमानाकाहरु छन् । जसमध्ये आधा दर्जनमा पनि सुरक्षाकर्मी बस्दैनन । सुरक्षाकर्मीको जनशक्ति कम हुन र जहाँ तही सिमानाकाहरु हुँदा सुरक्षाकर्मीलाई रेखदेखमा समस्या हुने गरेका सुरक्षा अधिकारी गुनासो गर्छन ।

प्रकाशित मिति : १९ चैत्र २०७५ मंगलबार ००:००  २ : ३४ बजे