काठमाण्डौ ।
‘गोरखा भूकम्प’ को जस्तै प्राकृतिक विपत्तिमा परेका छन् बारा र पर्साका बासिन्दा । एकै क्षणमा बस्ती नै सखाप बनाउने गरी आएको हावाहुरीले घर उडायो, बस्ती उडायो, रुख बिरुवासमेत खण्डहर बनाएको छ ।
पछिल्लो विवरणअनुसार ३१ जनाको ज्यान गएको छ भने ६०० बढी घाइते विभिन्न अस्पतालमा उपचाररत छन् । एकाएक आइपरेको विपद्ले अस्पतालमा चिकित्सकको अभाव देखिएको प्रदेश नम्बर २ को सरकारले जनाएको छ । घाइतेको उपचारका लागि स्थान अभाव भएका छन् । रगतको समेत अभाव देखिएको छ ।
चैतदेखि जेठसम्मको समय प्रि–मनसुनको हो । पानी पर्नु र हावाहुरी चल्नु सामान्य भए पनि आँधीकै शैलीमा नै हावा चल्नु भने अस्वाभाविक रहेको देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागले पानी पर्ने, हावाहुरी चल्ने र हिमपात हुने जस्ता विषयमा पूर्वअनुमान गर्दै आएको छ । तर आइतबार साँझ बारा, पर्सामा प्रकृतिले देखाएको ताण्डवका बारेमा किन पूर्वअनुमान गर्न सकेन भन्ने जिज्ञासासमेत आम रुपमा उठेको छ ।
विभागका महानिर्देशक सर्जुकुमार वैद्यले भन्नुभयो, ’प्रि– मनसुनका क्रममा दिउँसो तातो हुने र साँझ चिसो बढ्दै जाँदा स्थानीय वायु प्रणाली सक्रिय भइरहेको तथा विगत केही दिनदेखि पश्चिमी न्यूनचापीय प्रणालीको असर देखिएकाले आकस्मिक रुपमा आँधी उत्पन्न हुन गयो ।’
वायुमण्डलको माथिल्लो भाग अस्थिर बन्न जाँदा सीमित स्थानमा छोटो समयमा नै आँधीको विकास भयो र बारा, पर्साका विभिन्न क्षेत्रमा आँधी उत्पन्न भएको महानिर्देशक वैद्यको भनाइ छ । विभागका अनुसार यस्तो मौसमी पूर्वानुमान गर्न गाह्रो हुने भन्दै विकसित देशले समेत पत्ता लगाउन सकेको छैन । महानिर्देशक वैद्यले मौसमी पूर्वानुमान प्रणालीको अनुसन्धानमा नयाँ प्रविधिको खोज गर्नुपर्ने बताउनुभयो ।
विभागले हाल गर्ने गरेको अनुमान तत्कालका लागि मात्रै हुने भएकाले भविस्यको पूर्वानुमान गर्न सकेको छैन । विभागले हाल सुर्खेतमा मौसमी राडार जडान गरेको भए पनि जनशक्तिको अभावमा सञ्चालनमा ल्याउन सकेको छैन । जलवायु परिवर्तनले समेत केही असर पारेका कारण यस्ता पूर्वानुमान गर्न समस्या पर्ने विभागको भनाइ छ ।
विभागका पूर्व महानिर्देशक ऋषिराम शर्माले बारा र पर्साको आँधी प्रतिघण्टा ८० किलोमिटर बराबरको रहेको र ठूलो आँधीका रुपमा लिनुपर्ने बताउनुभयो । मौसमका विषयमा विशेष जानकारी राखेर अध्ययन गर्ने प्रणाली र जनशक्ति नै नेपालमा छैन । हाल ७२ घण्टाको अनुमान हुने भएको छ । छिमेकी देश भारतमा १५ दिनदेखि एक महिनासम्मको अनुमान गर्ने गरिएको छ । आकस्मिक रुपमा हुने यस्ता विपद्को भने अनुमान गर्न गाह्रो हुने शर्माको भनाइ छ । कमजोर पूर्वाधार, विद्युत्को खम्बा, रुख ढल्दा, घरको छाना खस्दासमेत ठूलो मात्रामा जनधनको क्षति भएको छ ।
पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने, पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिँदै हाल जल तथा ऊर्जा आयोगको सचिवालयमा कार्यरत सहसचिव शर्माले भन्नुभयो, ’स्थानीय वायुको प्रभाव तल्लो भेगमा यसरी पर्ला भन्ने अनुमान गर्न गाह्रो थियो, तर सामान्य रुपमा मेघ गर्जनसहित पानी पर्ने सम्भावनालाई भने अनुमान गर्न सकिन्छ ।’ स्थानीय वायुको प्रभाव तल्लो भेगमा आंकलन गर्न गाह्रो हुने भन्दै पूर्वानूमान गर्न समस्या भएको विभागले जनाएको छ ।
पोखराको प्रभाव बारामा
मौसमविद् सुजन सुवेदीले भने आकस्मिक रुपमा देखा परेको आँधीको छुट्टै अनुसन्धान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ’प्रि–मनसुनका कारण वायु मण्डलमा न्यून चापिय क्षेत्रको स्थापना भएर पोखराको आकाशमा थप नयाँ बादल विकास भयो र त्यो बादल दक्षिण पूर्वतर्फ बहँदा बारा र पर्सालाई मुख्य प्रभावमा र्पायो र ठूलो मात्रामा क्षति र्पुयायो ।’
नेपालमा हावाहुरीका बारेमा खासै पूर्वानुमान नहुने भन्दै उहाँले वर्षा, हिमपात, मेघ गर्जन, बादल, तापक्रमको मात्रै पूर्वानुमान हुने गरेको बताउनुभयो । रासस
प्रतिक्रिया