२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

पूर्वी तराईमा हावाहुरीको वितण्डाः ज्यान गुमाउने संख्या ३२ पुग्यो



काठमाडौं ।
पूर्वी तराईको बारा र पर्साका जिल्लामा हिजो साँझ एक्कासी आएको ठूलो हावाहुरीका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ ।
मध्यरातसम्म बारामा २७ जनाको र पर्सामा पाँच जनाको गरी कुल ३२ जनाको मृत्यु भएको पुष्टि भएको स्थानीय प्रशासनले जानकारी दिएको हो । घटनाको विस्तृत विवरण आउन अझै बाँकी छ । तर ज्यान गुमाउने र घाइते हुनेहरूको संख्या अझै बढ्न सक्ने जनाइएको छ ।
यसअघि गएराति १०ः३७ मा ट्वीट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म २५ जनाको ज्यान गएको र झन्डै चार सय जना घाइते भएको जानकारी प्राप्त भएको भन्दै शोक व्यक्त गरेका थिए । प्रदेश नं २ को सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाका अनुसार बाराका भलुही, भरवलिया र फेटा सबैभन्दा बढी प्रभावित भएका छन् ।
प्रभावित जिल्लाहरूमा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी तथा स्वयंसेवकहरू परिचालित गरिएका छन् । गम्भीर प्रकृतिका घाइतेको संख्या धेरै भएको हुँदा क्षतिको विवरण अझै बढ्न सक्ने बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिए ।
अस्पतालमा विरामीको चाप बढेसँगै घाइतेहरुको उपचापर निशुल्क गर्न दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले निर्देशन दिएका छन् । हावाहुरीले धेरै ठाउँमा यात्रुवाहक सवारीसाधन पल्टाउनुका साथै माटोबाट बनेका घरहरूमा क्षति पुगेको बताइएको छ ।
बिजुली र टेलिफोनका पोलहरू लडेर, टिनका छाना उडाएर र पर्खाल लडेर समेत मानिसहरू हताहत भएको बताइएको छ । अस्पतालहरूको क्षमताभन्दा निकै धेरै घाइतेहरू भएका कारण भुइमै राखेर उपचार थालिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५ सोमबार ००:००  ४ : ३९ बजे