९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मौसमविद भन्छन्, यस्तो हावाहुरीको आँकलन थिएन



काठमाडौं ।
देशको मध्य भू–केन्द्रित भएर अचानक मान्छे नै उठाउने गरि आएको हावाहुरीको कारण स्पष्ट नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिजो बेलुका बारा तथा पर्सामा केन्द्रित भइ अचानक आएको हावाहुरीका कारण कम्तिमा २७ जनाको ज्यान गएको छ ।
यसको कारण स्पष्ट नभएको र अध्ययनको विषय रहेको मौसमविद मिनकुमार अर्यालले बताउनुभएको छ । तर स्थानीय वायुको प्रभाव र भारतको मध्य प्रदेशतिर बनेको न्यूनचापिय क्षेत्रका कारण हिजो बेलुका मध्य तराई केन्द्रित भएर हावाहुरी चलेको हुन सक्ने मौसमविद अर्यालले बताउनुभयो ।
आइतबार बेलुका एकै ठाउँमा केन्द्रित भएर मान्छे नै उठाउने हुरी चल्यो उहाले भन्नुभयो हामीले मध्य क्षेत्रमा हावाहुरी चल्ने तथा मेघ गर्जनसहित पानी पर्ने सम्भावना देखेका थियौँ । तर यस्तो गम्भीर घालको हावाहुरीको आँकलन थिएन ।
प्रि–मनसुनको समयमा स्थानीय वायुको प्रभाव र अरु प्रणालीका कारण मौसमी गतिविधि परिवर्तन भइरहने भएकोले आँकलन गर्न कठिन हुने उहाले बताउनुभयो । तर बारा तथा पर्साको अनुभव नयाँ रहेको उहाको भनाई छ ।
हिजो बेलुका आफूहरुले मौसमी गतिविधि निरन्तर अवलोक गरिहेको र नाउकास्ट–जसमा १० देखि १५ मिनेटको मौसमी पूर्वानुमान हुन्छ, त्यसमा मेघ गर्जन र हुरीबतासको सम्भावना देखिएको मौसमविद अर्यालले बताउनुभयो । तर यस्तो खालको ठूलो हावाहुरी एकै ठाउँ केन्द्रित भएर तत्कालै आउँछ भन्ने आँकलन गर्न नसकिएको उहाले बताउनुभयो ।
मौसमविद अर्यालका अनुसार आज बिहान सो क्षेत्रमा मौसम सामान्य हुने देखिएको छ । तर बिहान १०–११ बजेदेखि स्थानीय वायुको प्रभावले बादल बन्न थाल्ने र बेलुका तिर मेघ गर्जनसहित पानी पर्ने तथा हावाहुरी चल्ने सम्भावना रहेको छ । आज पनि विशेष गरि तराई क्षेत्रमा हावाहुरीबाट जोगिन सजग हुनु पर्ने उनले बताएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५ सोमबार ००:००  २ : ५२ बजे