२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

प्रदेश नं. ५ मा राप्रपाको एक हप्ते हस्ताक्षर अभियान सुरु



बुटवल ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मुलुकमा हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सरकारलाई दबाब दिन आज काठमाडौं, बुटवल लगायत देशभर हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । ८१ प्रतिशत हिन्दु रहेको मुलुकमा हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सरकारलाई दबाब दिन भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर एकैसाथ हस्ताक्षर संकलन अभियान सुरु गरेको हो ।
काठमाडौं, ललितपुर र भक्तपुरको हस्ताक्षर संकलन अभियान संयुक्त रुपमा काठमाडौंको वसन्तपुरबाट सुरु गरिएको छ । त्यस्तै प्रदेश नम्वर ५ को राजधानी बुटवलको बुटवल उपमहानगपालिकाको कार्यालय अगाडी हाटबजारबाट हस्ताक्षर अभियान सुरु गरीएको छ ।
पार्टीका नेता तथा पुर्वमन्त्री निरञ्जन थापा, केन्द्रिय सदस्य तथा प्रदेश संयोजक प्रदीप कुमार उदय लगायतका नेताहरुले हस्ताक्षर गरी अभियानको सुरु गर्नु भएको हो ।
विश्वकै हिन्दुहरुको पहिचानका लागि पनि नेपाललाई हिन्दु राष्ट्र पुनःस्थापना गर्न एक हप्ते हस्ताक्षर संकलन अभियान सञ्चालन गरिएको पार्टीका नेता तथा प्रदेश संयोजक उदयले जानकारी दिनुभयो । संकलन गरिएको हस्ताक्षर यही चैत २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने राष्ट्रिय प्रजातन्त्र पार्टीको योजना छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दु राष्ट्र पुनस्थापनाका लागि दवाव दिन सरकारलाई ज्ञापन पत्र बुझाउनका लागि मेची–महाकाली अभियान समेत सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७५ आइतबार ००:००  २ : ३७ बजे