३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३ सय ७२ स्वर्णका लागि प्रतिष्पर्धा हुँदै



काठमाडौं ।
बैशाख ५ गतेदेखि ११ सम्म हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कुल ३५ खेलमा ३ सय ७२ स्वर्णका लागि प्रतिष्पर्धा हुने भएको छ। मौसमको चरम प्रतिकूलता रहने समयमा सरकारले बैशाखको पहिलो साताबाट नेपालगञ्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्न लागेको हो। नेपालगञ्जमा चरम गर्मी मौसममा हुने आठौं राष्ट्रिय खेलकुदका लागि ४३ करोड ८५ लाख बढी खर्च हुने खेलकुद मन्त्रालयले जनाएको छ। जसका लागि अहिलेसम्म कुल ३२ करोड ८४ लाख निकासा भइसकेको मन्त्रालयले जनाएको छ। प्रतियोगिताका लागि अपुग ११ करोड ९२ लाखका लागि खेलकुद मन्त्रालयमार्फत अर्थमन्त्रालयमा पत्रचार गरिसकिएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ। परिषदले प्रतियोगिताको तयारी लगभग पूरा भइसकेको जनाएको छ। प्रतियोगितामा देशभरबाट सम्पूर्ण ३५ विदामा ५२ सय ११ जना खेलाडीले सहभागिता जनाउने जानकारी दिएको छ। जसमा पुरुषतर्फ २ हजार ८२५ खेलाडीले प्रतिष्पर्धा गर्दा महिलातर्फ २ हजार ३८६ खेलाडी प्रतिष्पर्धामा रहने छन्। त्यस्तै ६ सय ४० प्रशिक्षक रहँदा टिम व्यवस्थापकका रूपमा ४ सय ६१ जनाको सहभागिता रहने छ। प्रतियोगितामा ९२२ जना अन्तर्राष्ट्रिय निर्णायकको रूपमा रहँदा स्थानीय ४ सय ७१ निर्णायक मैदानमा रहने छन्। प्रतियोगितामा खेलाडी, अफिसियल, रेफ्री, जुरी आयोजकका समितिहरू गरी कुल १० हजार जना प्रत्यक्ष संलग्न रहने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ। आठौँ राष्ट्रिय खेलकुदका लागि मन्त्रालयले खेलाडी तथा अफिसियलका लागि खाना र बसोबासका लागि मात्रै ४६ लाख ७१ हजार खर्च गर्दा रेफ्रीहरूको यातायात र निर्णाक भत्ताका लागि मात्र ५६ लाखा ३३ हजार खर्च गर्दै छ। त्यस्तै प्रतियोगिताका लागि गठित विभिन्न उपसमितिहरूबाट उसले दुई करोड ७२ लाख खर्च गर्दै छ।

प्रकाशित मिति : १७ चैत्र २०७५ आइतबार ००:००  ९ : ४१ बजे