३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

बालाराम ज्ञवालीको विदाई, जसले ‘सिद्धार्थ क्याम्पस’को स्वर्ण युग रचे



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको सिद्धार्थ क्याम्पस बाणगंगा बुङ्चीका क्याम्पस प्रमुख बालाराम ज्ञवालीले शुक्रबारदेखि अवकास लिनु भएको छ । वि.सं २०६७ सालदेखि सिद्धार्थ क्याम्पसको नेतृत्व लिनु भएका ज्ञवालीले उमेर हदका कारण अवकास लिनु भएको हो । त्रिविको नियमअनुसार ६३ बर्ष उमेर पुरा गरेपछि स्वतः अवकास लिने प्रावधान छ । सोही अनुसार उहाँले अवकास लिनुभएको हो । उहाँको विदाई संगै सहायक क्यामपस प्रमुखको भूमिकामा रहनु भएका खेमराज शर्माले शुक्रबारदेखि नै क्याम्पस प्रमुखको जिम्मेवारी लिनुभएको छ ।

सिद्धार्थ क्याम्पसका सम्पूर्ण प्राध्यापक र कर्मचारीले शुक्रबार ज्ञवालीको अवकासको अवसरमा राखेको विदाई तथा सम्मान कार्यक्रममै क्याम्पस प्रमुख ज्ञवालीले सहायक क्याम्पस प्रमुख शर्मालाई क्याम्पस प्रमुखको साँचो हस्तान्तरण गर्नुभएको थियो । सोही समारोहमा विदाईसंगै ज्ञवालीले अहिलेसम्म आफूलाई प्रत्यक्ष र परोक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो ।

आफ्नो कार्यकालमा क्याम्पसलाई शैक्षिक हिसाबले गुणस्तरीय बनाउन आफूले सक्दो सहयोग गरेको उहाँले बताउनुभयो । आफ्नै कार्यकालमा क्याम्पसलाई क्यू एए प्रमाणित गर्ने कोशिस रहेपनि केही काम बाँकी रहेकाले अबको नेतृत्वले ती काम पुरा गर्नेमा आफू विश्वस्त रहेको बताउनु भयो । आफ्नो सम्पूर्ण उर्जाशिल समय क्याम्पसको शैक्षिक र भौतिक उन्नतिमा खर्च गरेको भन्दै आगामी दिनमा पनि क्याम्पसलाई आफूले सहयोग गर्ने बताउनु भयो ।

यस्तै नवनियुक्त क्याम्पस प्रमुख खेमराज शर्माले ज्ञवालीले आफूलाई धेरै चुनौति थपिदिएको भन्दै ती चुनौति पार गर्नु नै आफ्नो सफलता हुने बताउनुभयो । अवकास प्राप्त ज्ञवालीले क्यामपसको हितमा गरेको समय क्याम्पसको इतिहासमा स्वर्ण युग भएको भन्दै मुक्त कण्ठले प्रसंसा गर्नुभयो । आगामी दिनमा सबैको साथ र सहयोग रहेमा क्याम्पसलाई थप उचाइ दिन आफू प्रत्यत्नशिल रहने उहाँले बताउनु भएको छ ।

यसैबीच सिद्धार्थ क्याम्पसका प्राध्यापक तथा कर्मचारीले शुक्रबार मात्र क्यामपसको प्रमुख पदबाटबाट अवकास लिनुभएका बालाराम ज्ञवालीले क्यामसको हितमा थुप्रै काम गरेको हुँदा मुक्तकण्ठले प्रसंसा गरेका छन् । क्याम्पसका प्रध्यापक तथा कर्मचारीले शुक्रबार ज्ञवालीको विदाई तथा सम्मानमा आयोजना गरेको कार्यक्रममा प्राज्ञिक व्यत्त्विहरुले सो कुरा बताउनु भएको हो ।

क्याम्पसका प्राध्यापक तथा विद्यालय निररिक्षक कविराज भण्डारी, बेदुराम अर्याल, राजकुमार अर्याल, गोविन्द खनाल, कमल पोख्रेल, दिलु श्रेष्ठ, रोमाकान्त घिमिरे, कर्मचारी युवराज ज्ञवाली, रमेशचन्द्र भुसाल, स्ववियू सभापति शुशिल खत्री, रेडियो मायादेवीका स्टेशन म्यानेजर चन्द्रकान्त न्यौपाने लगायतले बोल्दै ज्ञवालीले क्याम्पसको हितमा अविस्मरणीय कार्य गरेको बताउनु भएको हो ।

सिद्धार्थ क्याम्पस प्राध्यापक इकाइका अध्यक्ष गोविन्द खनालको अध्यक्षता, ज्ञवालीकी धर्मपत्नी दिप्ती ज्ञवालीको विशेष आतिथ्य र प्राध्यापक रोमाकान्त घिमिरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको अवसरमा प्रध्यापक तथा कर्मचारीले सम्मान गरेका छन् । ज्ञवालीलाई मायाको चिनो, सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७५ आइतबार ००:००  ३ : २० बजे