३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

शीर्ष चारमा उक्लियो म्यानचेस्टर युनाइटेड



एजेन्सी ।
म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा पुनः अटाएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा वाट्फोर्डमाथि २–१ को जित निकाल्दै म्यानचेस्टर युनाइटेड चौथो स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा भएको खेलमा युनाइटेडको जितमा मार्कस रासफोर्ड र एन्थोनी मार्सलले गोल गरे । वाट्फोर्डका लागि अब्दुलायी दुकुरले एक गोल फर्काए ।

२८ औँ मिनेटमा रासफोर्डको गोलबाट युनाइटेडले पहिलो हाफमा १–० को अग्रता लियो । ७२ औँ मिनेटमा मार्सलले गोल गर्दै अग्रता दोब्बर पारे । ९० औँ मिनेटमा दुकुरले वाट्फोर्डका लागि एक गोल फर्काएका हुन् ।

जोसे मोरिन्हो बर्खास्त भएपछि युनाइटेडको अन्तरिम प्रशिक्षक रहेका ओल गुनार सोल्सकेएर गएको बिहीबार क्लबको स्थायी प्रशिक्षकमा नियुक्त भएका थिए । त्यसपछिको खेलमा पनि उनको टिमले जित निकालेको हो ।

जितपछि चौथो स्थानमा उक्लिएको युनाइटेडको ३१ खेलबाट ६१ अंक भएको छ । उ पाँचौँ स्थानमा झरेको एक खेल कम खेलेको आर्सनल भन्दा एक अंकले अघि छ । दशौँ स्थानको वाट्फोर्डको ४३ अंक रहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५ आइतबार ००:००  ३ : ०८ बजे