३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

शिवगढीमा रातभर सुरक्षाकर्मीको ‘सर्च अप्रेशन’



मायादेवी अनलाइन, वाणगंगा । 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ता माथि कपिलवस्तु प्रहरीले कार्रबाहीलाई तीव्र पारेको छ । सरकारले नेकपालाई प्रतिबन्ध लगाए यता प्रहरीले जिल्लाका आधा दर्जन बढी नेकपाका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । शुक्रबार मात्र नेकपा निकट क्रातिकारी शिक्षक संगठन कपिलवस्तुका अध्यक्ष रामनिवास प्रसाद चौहानलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले विप्लवका अन्य चार जना कार्यकर्तालाई पनि पक्राउ गरे पनि नाम गोप्य राखेको छ । शुक्रबार साँझ मात्र चन्द्रौटाबाट प्रहरीले स्थानीय नेता राजेश विश्वकर्मालाई पक्राउ गरेको छ । उनको नाम प्रहरीले अझै सार्वजनिक गरेको छैन । आइतबार मात्र विश्वकर्मालाई अदालतबाट म्याद थप गराई नाम सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

शुक्रबार रातभर प्रहरीले जिल्लाको शिवगढीमा ‘सर्च अप्रेशन’ चलाएको छ । जिल्लाबाट खटिएका सुरक्षाकर्मीले शिवगढीका विभिन्न स्थानमा सर्च अप्रेशन चलाएका हुन् । सानो रोल्पाका रुपमा चिनिने शिवगढीमा प्रहरीले पटक पटक सर्च अप्रेशन चलाउँदै आएको छ । विशेष स्रोतका अनुसार प्रहरीले शुक्रबार राती शिवगढीका तुरुन्तपुर, अञ्चलपुर, भगवानपुरका ४० घरमा खानतलासी परेको छ । झण्डै ७ ओटा गाडीमा ती स्थानमा पुगेका सुरक्षाकर्मीले रातभर घरमा खानतलासी गरेको स्थानीयले बताएका छन् ।

राती सुतिरहेको अवस्थामा दर्जनौं संख्यामा उपस्थित सुरक्षाकर्मीले खानतलासी गर्दा गाउँमा त्रास फैलिएको शिवगढीका प्रेम बहादुर बस्नेतले बताए । ‘सुरक्षाकर्मी हातहतियार सहित गाउँ पस्दा अब के के हुने हो भनेर जनतामा त्रास फैलिएको छ बस्नेतले भने । गाउँमा त्रास फैलिए पछि कयौं व्यक्तिहरु गाउँ छाड्न बाध्य भएको उनले बताए ।

शिवगढी गाउँ रोल्पा, रुकुमबाट बसाईसराई गरी आएकाहरुको प्रमुख बसोबास भएको ठाउँ हो । यहाँ रोल्पालीहरुको बाक्लो बसोबास रहेको छ । जिल्लामा सानो रोल्पाको रुपमा चिनिने शिवगढीमा नेत्रविक्रम चन्द ‘विप्लव’ संगै उनको आफन्तहरुको बसोबास भएको ठाउँ हो । रोल्पाबाट बसाईसराई गरी आएकै कारण सुरक्षाकर्मीले आफुहरुलाई दुख दिने गरेको स्थानीयले गुनासो गरेका छन् ।

शुक्रबार राती ३ बजे सुरक्षाकर्मीले आफ्नो घरमा खानतलासी गरेको भगवानपुरकी दिल कुमारी घर्तीले बताइन । राती सुतिरहेको अवस्थामा हतियार सहित घरमा आएर सुरक्षाकर्मी खानतलासी गर्दा आफु त्रसित बनेको उनले बताइन् । सुरक्षाकर्मी पटक पटक घरमा आएर खानतलासी गर्दा बालबच्चा त्रासमा परेकोे उनले सुनाइन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी अहिले शिवगढी क्षेत्रमा बढी तैनाथ पारिएकोछ  । जिल्लाको संवेदनशील क्षेत्रको रुपमा रहेको त्यस स्थानमा सयौं सुरक्षाकर्मी परिचालित भएका हुन् ।

प्रकाशित मिति : १७ चैत्र २०७५ आइतबार ००:००  २ : ११ बजे