३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा कपिलवस्तुमा युवाको मृत्यु



सीताराम चौधरी, चन्द्रौटा ।
राजस्व चेकप्वाइन्टमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा कपिलवस्तुको चन्द्रौटामा एक युवाको ज्यान गएको छ ।
ज्यान जानेमा शिवराज नगरपालिका १, भलुहीका मनिराम छोराका २२ वर्षीय सनी थारु रहेका छन् । घटना राति करीब १ बजेको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४१२६ नम्बरको ट्रक जिल्लाको चन्द्रौटा खसी बजारस्थित राजस्व चेकप्वाइन्टमा रोकिएको थियो । लु ४८ प ६९२८ नम्बरको पल्सर मोटरसाइकलबाट आफ्ना दाजु (फुपुका छोरा) को छोरीको बर्थडे पार्टी सकेर मध्यराति चन्द्रौटाबाट घर फर्किने क्रममा उनी सोझै राजस्व चेकप्वाइन्ट पुगेका थिए । ओभरस्पिडमा रहेका उनी चेक गर्न रोकिएको ट्रकको पछाडि दाहिने साइडमा ठोक्किएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
दुर्घटनाबाट गम्भीर घाइते भएका थारुलाई सञ्जीवनी सामुदायिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि राति नै शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७५ आइतबार ००:००  १ : ४८ बजे